
काठमाडौं । रसुवा बाढीबाट पुगेको क्षतिका कारण अर्थतन्त्र विस्तारमा १५ प्रतिशत हाराहारीमा नकारात्मक असर पर्ने देखिएको छ ।
पर्यटन र जलविद्युतको मुख्य केन्द्रमै भएको क्षतिबाट बाहिर आउन तीव्र गतिमा काम नगर्ने हो भने मुलुक ६ देखि ७ वर्षपछि धकेलिने विज्ञको आकलन छ ।
जलविद्युत्सँगै पर्यटन क्षेत्रका लागि आकर्षक गन्तव्यका रुपमा रहेको रसुवामा बाढीले पुराएको क्षतिले मुलुकको अर्थतन्त्रमा ठूलो असर पार्ने देखिएको छ । अहिले सार्वजनिक भएका तथ्यहरुका आधारमा कम्तीमा पनि २ खर्ब हाराहारीमा भौतिक क्षति भएको विज्ञको आकलन छ, जुन नेपालको ६६ खर्बको अर्थतन्त्रमा ३ प्रतिशत हाराहारी हुन आउँछ ।
बाढीका कारण ३ देखि ५ प्रतिशत जति जीडीपीको भौतिक नोक्सानी भएकाले यो वर्षको आर्थिक गतिविधिमा १५ देखि २५ प्रतिशत जीडीपीको वृद्धिमा असर पर्ने विज्ञ बताउँछन् ।
बाढीको असर नेपाली अर्थतन्त्रमा अल्पकालीन मात्रै होइन दीर्घकालसम्मै पर्ने देखिएको छ । रसुवागढी चीनसँगको एक मुख्य व्यापारिक नाका भएकाले चीनसँगको व्यापारमा प्रभाव पर्ने छ । यसका साथै दीर्घकालीन रूपमा काठमाडौँ-केरुङ रेलमार्ग चुनौतीपूर्ण रहेको देखिएको छ ।
२०७२ को भूकम्पलगत्तै भारतको अघोषित नाकाबन्दी र २०७७ मा कोरोना महामारीबाट थलिएको अर्थतन्त्र गत भदौमा भएको जेन-जी आन्दोलनपश्चात् थप शिथिल भएको थियो । त्यसमा अब फेरि रसुवा बाढी थपिँदा यसले सरकारले लक्ष्य गरे अनुरुप ७ प्रतिशतको आर्थिक वृद्धि हुन कठिन हुने विज्ञको आकलन छ ।
बाढीले बैंकिङ क्षेत्रको खराब कर्जा बढाउनेसँगै बीमा क्षेत्रमा प्रतिकूल असर पर्ने देखिन्छ । त्यसैले अब अर्थतन्त्रमा परेको यसको क्षति कम गर्न सरकारले बजेटमा अबण्डा शीर्षकमा राखेको रकम सङ्गै दातासँग रकम लिएर पुनर्निर्माणका काम अघि बढाउनु पर्ने देखिएको छ ।
बाढीका कारण निजी क्षेत्रको पनि ठूलो नोक्सानी भएकाले जलविद्युत्, पर्यटनसङ्गै अन्य प्रभावित व्यवसायीले व्यहोरहेको समस्या समाधान तथा त्यसको सहजीकरण राज्यको प्राथमिकतामा हुनुपर्ने देखिन्छ ।