
रुपन्देही । बाढीका कारण चीनतर्फका नाका र सडक प्रभावित हुँदा आयातको चाप रुपन्देहीको बेलहिया नाकातर्फ सरेको छ ।
अहिले बेलहिया नाकाको १५ किलोमिटर परसम्म मालबाहक गाडीको लाम लागेको छ । चाडवाडको समय नजिकिँदै गर्दा मालवाहक गाडी सीमामा रोकिँदा आयातित वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ ।
नेपाल-भारत सीमा नाकाको बेलहियादेखि भारतको सुनौली बजार हुँदै करिब १५ किलोमिटर टाढा कोल्हुवासम्म मालवाहक गाडीको लाम लागेको छ। नेपालका लागि विभिन्न सामग्री बोकेर आएका गाडी लामो समयदेखि सीमामा रोकिँदा बेलहिया नाका एवं भैरहवा भन्सार भद्रगोल भएको छ ।
बाढीपहिरोका कारण चीनसँग जोडिएका प्रमुख नाका प्रभावित भएपछि व्यवसायीले भारत हुँदै नेपालमा सामान ल्याउन थालेका छन् । यसले बेलहिया नाकामा मालवाहक गाडीको चाप बढेको हो । दैनिक करिब आठसय मालबाहक गाडी आउने बेलहिया नाकाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३ खर्ब ४ अर्ब ५ करोड रुपैयाँको सामान आयात भएको थियो ।
भदौमा मात्रै पनि ३१ अर्ब ७० करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो, जुन अघिल्लो वर्षको भदौभन्दा ११ प्रतिशत बढी हो । आयातका लागि आएका गाडीको संख्या बढ्दै जाँदा भन्सार प्रक्रिया पूरा गर्नसमेत समय लागेको छ ।
सामान्य अवस्थामा भैरहवा भन्सार राति १० बजेपछि बन्द हुने गर्छ। गाडीको चाप व्यवस्थापन गर्न भैरहवा भन्सार कार्यालयले भारतीय सुनौली भन्सारसँग समन्वय गरी भन्सार नाका राति १ बजेसम्म सञ्चालन गर्न थालेको छ । यद्यपि चाडबाडको मुखमा सामान आयात बढेकाले भीड घटेको छैन ।
एकातिर चीनतर्फका नाका अवरुद्ध भएर आयात प्रभावित छ । अर्कोतिर भारतीय नाका बेलहियाबाट आउने मालबाहक गाडी भीडमा फसेका छन् । यसले चाडबाडको मुखमा आयातित वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । चीनतर्फका नाका अवरुद्ध हुँदा विकल्प बनेको बेलहिया नाका एवं भैरहवा भन्सारमा बढ्दो मालवाहक गाडीको चाप व्यवस्थापन गर्न प्रभावकारी योजना बनाउन जरुरी छ ।