
काठमाडौं । एनसेलको सेयर खरिद विक्रीसम्वन्धी अध्ययन तथा छानबिन प्रतिवेदनले स्मार्ट टेलिकम र एनसेलमा बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जाले वित्तीय जोखिम सिर्जना गरेको भन्दै राष्ट्र बैङ्कबाट थप अनुसन्धान हुनुपर्ने सुझाव दिएको छ । साथै एनसेलको आर्थिक वर्ष २०७६/०७७ देखि लेखा परीक्षण गरि कर निर्धारण गर्नुपर्ने निष्कर्ष पनि प्रतिवेदनको छ ।
दुई वर्षदेखि गुपचुप राखेर हालै सार्वजनिक गरिएको एनसेलको सेयर खरिद विक्रीसम्वन्धी अध्ययन प्रतिवेदनले वित्तिय संस्थाको कर्जा प्रवाहमै प्रश्न उठाएको छ । प्रतिवेदनले एनसेल आजियाटा, स्मार्ट टेलिकम, सुनिभेरा क्यापिटल भेञ्चर्स लगायतमा अस्वाभाविक कर्जा प्रवाह गरी वित्तीय जोखिम सिर्जना गराएको भन्दै राष्ट्र बैङ्कबाट थप अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेको छ । साथै दूरसञ्चार सेवा प्रदायक कम्पनीमा कम्तीमा २० प्रतिशत लगानी स्वेदशी लगानीकर्ताको हुनुपर्ने कानुनी व्यवस्था विपरीत गैरनेपाली नागरिकको शेयर स्वामित्व भएको विषयमा पनि अध्ययन गर्न सुझाव दिइएको छ । साथै एनसेल आजियाटाको २०७६/७७ देखि हालसम्मको कर परीक्षण गरी रकम असुल गर्न पनि सुझाव दिइएको छ ।
प्रतिवेदनमा २०५८ सालमा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद विक्री भएको र धेरैजसो कारोबार नेपालबाहिर नै भएको उल्लेख छ । साथै यस्ता कारोबारहरूसँग सम्बन्धित बिवरणहरू नेपालका निकायहरूमा पेश नगरेको र कतिपय नेपाली शेयरधनीहरुले समेत बैंकिङ्ग प्रणालीबाट कारोवार नगरेको निष्कर्ष निकालिएको छ ।
एनसेलले व्यवसाय शुरू गरेदेखि हालसम्म प्रविधिका साथै ८ करोड रुपैंया विदेशी लगानी र २ करोड रुपैंया नेपाली लगानी गरेको र १ खर्ब १३ अर्ब ५८ करोड नाफा कमाई ९३ अर्ब ५० करोड लाभांश घोषणा गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । ६६ अर्व ९५ करोडभन्दा बढी लाभांश र थप र २ अर्ब भन्दा बढी रकम अन्य शीर्षकमा विदेश लगिएको पनि देखिएको छ ।
साथै कर र गैरकर राजस्व गरी नेपाल सरकारलाई करिब ३ खर्ब २ अर्ब रूपैयाँ बुझाएको पनि उल्लेख छ । साथै अन्य मुलुकका टेलिकम सेवा प्रदायक कम्पनीहरूको तुलनामा उच्च मुनाफा कमाएको समेत प्रतिवेदनमा जनाइएको छ ।
एनसेलको मुख्य कम्पनी आजियाटाले दूरसञ्चार सेवाको क्षेत्रमा लगानी गरेका नेपाल बाहेकका मुलुकहरू इण्डोनेसिया, बंगलादेश श्रीलङ्कामा भन्दा नेपालमा बढी प्रतिशतले करपछिको मुनाफा आर्जन गरेको देखिएको छ।
कम्पनीको शेयर खरिद विक्री गर्नुपूर्व प्रचलित नेपाल कानून बमोजिम पूर्व स्वीकृति लिनु पर्नेमा सो व्यवस्थाको उलङ्घन गरिएको उल्लेख गर्दै प्रतिवेदनले खरिद बिक्री कारोवारको यथार्थ मूल्य एकीन गर्न नसकिएको समेत बताएको छ ।
शेयर खरिद विक्री सम्झौता पछि पनि बिक्रेताले कम्पनीमा अप्रत्यक्ष नियन्त्रण कायम गर्न खोजेको देखिएको र एनसेल आजियाटा र स्मार्ट टेलिकम प्रा. लि. का शेयरधनीहरूबीच आर्थिक हितको सम्बन्ध रहेको देखिएको जनाइएको छ । बिगतमा पनि यी दुई कम्पनी तथा तिनका लगानीकर्ताबीच पारिवारिक सम्बन्ध रहेकाले क्रसहोल्डिङ्ग अर्थात एकाघरको लगानी हुनसक्ने रिपोर्टमा उल्लेख छ ।