भेडेटारमा करको भार, साहसिक पर्यटन लगानी संकटमा

श्रावण १९, २०८३ |विनोद घिमिरे
भेडेटारमा करको भार, साहसिक पर्यटन लगानी संकटमा

धनकुटा । धनकुटाको भेडेटार पूर्वको कहलिएको पर्यटकीय गन्तव्य हो । 

तराई र पूर्वीसीमाका भारतीय सहरबाट नजिक भएकाले यहाँ वर्षैभरि पर्यटकको चहलपहल हुन्छ । पछिल्ला वर्षमा होटल-रेस्टुराँ, मनोरञ्जन र साहसिक खेल पर्यटनमा लगानी र गतिविधि दुवै बढ्दो छ । तर, कोशी प्रदेश सरकारले विस्तार गरेको करको दर र दायराले भने साहसिक खेल पर्यटनका लगानीकर्ता-व्यवसायीलाई झस्काएको छ । 

मनोरञ्जन र साहसिक खेल पर्यटनका क्षेत्रमा प्रदेश सरकारको कर नीति अव्यावहारिक र लगानीमैत्री नभएको भन्दै उनीहरूले पुनर्विचार गर्न माग गरेका छन् । वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड एट्राक्सन प्रालिले कोशी प्रदेश सरकार र स्थानीयको करिब २० करोड रुपैयाँ सहलगानीमा भेडेटारको चार्ल्स प्वान्टमा साहसिक खेल स्काइवाक सञ्चालन गरेको छ। 

सञ्चालनको दुई वर्षमा करिब ३ लाख १० हजार पर्यटकले स्काइवाक भ्रमण गरेका छन्। गोपाल कटवालले भेडेटारमै करिब २५ करोड रुपैयाँ लागतमा यल्लो रिसोर्ट, भिष्टा लक्जरी एन्ड फनपार्क, जेनस्विङ्ग सञ्चालनमा ल्याउनुभएको छ। व्यवसायीहरू होटल व्यवसाय, मनोरञ्जन र साहसिक खेलपर्यटनका पूर्वाधार निर्माण र सञ्चालनका लागि ठूलो लगानी बोकेर भेडेटार छिर्न इच्छुक छन् । तर, प्रदेश सरकारका अनेकथरि करले व्यवसायनै टिक्न नसक्ने अवस्थामा पुगेको उनीहरुको गुनासो बढेको छ ।

भेडेटारमा होटल-रेस्टुराँ मनोरञ्जन र साहसिक खेल पर्यटनका क्षेत्रमा बर्षेनि लगानी, पर्यटकको उपस्थिति र कारोबार बढ्दो छ । पछिल्लो पाँच वर्षमा भेडेटारका होटल, रेष्टुराँ, मनोरञ्जन र साहसिक खेल पूर्वाधारमा करिब २ अर्ब ५० करोड रुपैयाँ लगानी भित्रिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु बताउानु हुन्छ । 

भेडेटार, नाम्जे र नमस्ते झरनालगायतका गन्तव्यमा वार्षिक करिब ७ लाख पर्यटक आउने गरेको उहाँको भनाइ छ । भेडेटारको मौसम, व्यावसायिक वातावरणमा होटल, रेस्टुराँ, मनोरञ्जन र साहसिक खेल पर्यटनका पूर्वाधारमा लगानी गर्न इच्छुक व्यवसायी पनि धेरै छन् ।

भेडेटार स्काइवाकका सञ्चालक तथा प्रबन्धक संजीव रोकाहा निजी लगानी आकर्षण गर्ने नीति लिएको कोशी प्रदेश सरकारको कर नीति व्यवसायमैत्री नभएको बताउनुहुन्छ । मनोरञ्जन र साहसिक खेल पर्यटनमा १३ प्रतिशत भ्याट, हरेक वर्ष प्रदेश लगानी प्राधिकरणमा ३ लाख रुपैयाँ नवीकरण दस्तुर, साहसिक पर्यटन अनुमति कर, नाफा र लामाशंमा लाग्ने कर, स्थानीयतहमा जाने व्यवसाय कर जस्ता नियमितबाहेक कारोबारमै ५/५ प्रतिशत रोयल्टी र मनोरञ्जन कर तिर्न बाध्य पारिएको उहाँको गुनासो छ । 

सञ्चालनमा आएको दुई वर्षमा स्काइवाकले १५ करोड रुपैयाँको कारोबार गर्दा कारोबारमै लगाइएको रोयल्टी र मनोरञ्जन करका साथै नवीकरण दस्तुरलगायतका शीर्षकमा करिब ९५ लाख रुपैयाँ प्रदेश सरकारलाई करमात्रै बुझाउनु परेको रोकाहा बताउनु हुन्छ ।

कोशी प्रदेशको होटल-रेस्टुराँ, होमस्टे, मनोरञ्जन र खेल पर्यटनका क्षेत्रमा निजी लगानी भित्र्याउन सहज वातावरण बनाउने प्रतिबद्धता गरेको सरकारले नै अव्यवाहारिकरूपमा रोयल्टी, नवीकरण, अनुमती, मनोरञ्जनलगायतका करका दर र दायरा बढाएको लगानीकर्ता व्यवसायीको गुनासो छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार भने सरकारले निजी लगानी आकर्षित गर्न नीतिगत प्रबन्ध र कानुनी व्यवस्था गरी लगानीको वातावरण सहज बनाउँदै लगेको दाबी गर्दै आउनु भएको छ । यता कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिदुर लिङथेप सम्झौतामा कबोल भएको करको अंक व्यवसायीले प्रदेश सरकारलाई बुझाउनै पर्ने बताउनु हुन्छ। कर बढी भएको विषयमा विगतमा पनि व्यवसायीका तर्फबाट मन्त्रालयमा गुनासो आएको भन्दै उहाँले करका विषयमा पर्यटन र प्रदेश लगानी प्राधिकरणमार्फत पुनर्मुल्याङ्कन गर्न सकिने उहाँको भनाइ छ।

करको दर र दायरा निर्धारण गर्दा व्यवसायको वास्तविक कारोबार, लगानीको आकार, रोजगारी सिर्जना र प्रतिफलको अवस्थालाई हेरेर कर प्राणालीलाई व्यवहारिक बनाउनुपर्ने व्यवसायीको माग छ। सरकारलाई राजश्व र व्यवसायीलाई लगानीको सुनिश्चितता हुने सहज वातावरण बनाउन सकेमात्रै भेडेटारको पर्यटन सम्भावनाले दीर्घकालीन आर्थिक लाभ लिनसक्ने देखिन्छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।