काठमाडौं । कोरोना महामारीयता थलिएको निजी क्षेत्रमा एकपछि अर्को समस्या आइरहेका छन् ।
जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा त्रसित बनेको निजी क्षेत्र फेरि बौरिन नपाउँदै सिरहा तथा सुनसरीमा भएको आन्दोलनको निसानामा परेको छ । यस्ता आगजनी तथा तोडफोडले अब थप आन्तरिक तथा बाह्य लगानी प्रभावित हुने, रोजगारी सिर्जना कम हुने र लगानी पलायनसमेत हुने जोखिम बढेको उद्योगी तथा व्यवसायीको भनाइ छ ।
देशको अर्थतन्त्र विस्तारमा अहिले निजी क्षेत्रको हिस्सा करिब ८१ प्रतिशत छ । सरकारी जागिरका अवसर सीमित हुँदा कुल रोजगारीको ८६ प्रतिशत निजी क्षेत्रले नै धानेको छ । तर, जब जब सडकमा विरोध, प्रदर्शन वा आन्दोलन हुन्छन् तब तब यही निजी क्षेत्र आक्रोशको निसानामा पर्ने गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको आगजनी र तोडफोडमा मात्रै निजी क्षेत्रको करिब ८१ अर्ब रुपैयाँ बराबरको क्षति भयो । यो ध्वंसले त्रसित बनेको निजी क्षेत्र अहिलेसम्म पनि ढुक्क भएर लगानी गर्न आँट गरिरहेको छैन ।
देशमा नयाँ सरकार आएपछि आशा पालेर बसेको बेला फेरि सुनसरी तथा सिरहामा भएको विरोध प्रदर्शनमा निजी क्षेत्र नै तारोमा परेपछि उद्योगी व्यवसायीहरू अब लगानीको वातावरण नै प्रभावित हुनसक्ने र त्यसको असर रोजगारीमा समेत पर्ने बताउँछन् ।
निजी क्षेत्रमा भएको यस्तो आगजनीले निश्चित व्यावसायिक घरानाको लगानी मात्रै हैन बैंकले दिएको ऋणसमेत प्रभावित हुन्छ । बैंकले ऋण दिएको रकम अरू कसैको नभइ ब्याजको आसमा बचत गरेका सर्वसाधारणकै हो । साथै त्यस्ता व्यावसायिक प्रतिष्ठानमा क्षतिपछि बीमा भुक्तानी गर्न पर्दा यसले पनि सर्वसाधारणले बीमाबाट पाउने प्रतिफलमै कमी ल्याउँछ ।
अर्थात् आक्रमणका शृंखला र त्यसका प्रभावले अन्ततः आमनागरिककै खल्ती प्रभावित हुन्छ । साथै लगानी र व्यवसायी पलायनको जोखिम पनि बढाउँछ । आन्दोलनमा निजी क्षेत्रलक्षित आक्रमणले बेरोजगारी त बढाउँछन युवाका निराशालाई पनि बढावा दिन्छ । त्यसैले यस्ता आक्रमणमा संलग्नलाई कारबाही गर्दै कानुनी राज्यको आभास दिलाउनु अपरिहार्य छ ।