
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ताजा तरकारी उत्पादनका लागि कोशी प्रदेशकै प्रमुख क्षेत्र हो ।
त्यहाँ मूला, बन्दाकोपी, काउली, मटरकोसा, आलु, स्कुस र गाजरलगायतका तरकारीबाट वार्षिक करिब ४ अर्ब रुपैयाँ आर्जन हुन्छ । उत्पादन बढ्दै गए पनि बजार सुनिश्चितता नहुँदा किसानले हरेक वर्ष कुनै न कुनै बाली बारीमै नष्ट गर्नुपर्ने बाध्यता दोहोरिँदै आएको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ जोरपाटीका किशोर सुब्बाले यस वर्ष २५ रोपनीमा मूला लगाउनुभएको थियो । बजार पठाउने बेलामा मूलाको भाउ घटेर प्रतिकिलो ६ रुपैयाँमा झर्यो । ६ रुपैयाँमा बेच्दा मल, बीउ र श्रम लागतसमेत नउठ्ने भएपछि हजारौँ किलो मूला बारीमै कुहियो ।
यस वर्ष मूला खेतीबाट एक रुपैयाँ पनि आम्दानी नभएको उहाँ गुनासो गर्नुहुन्छ । जोरपाटीकै अम्बिका सुवेदी पनि मूला नबिकेपछि खेताला लगाएर बारी खाली गरिरहनुभएको छ । उत्पादन लागत त उठेन नै, नयाँ बाली लगाउन बारी खाली गर्नसमेत थप खर्च गर्नुपर्यो ।
गत वर्ष पनि छथर जोरपाटीका किसानले उत्पादन गरेको बन्दाकोपी प्रतिकिलो ३ रुपैयाँमा समेत नबिक्दा बारीमै नष्ट गर्नुपरेको थियो । यस वर्ष त्यही अवस्था दोहोरिएको छ । बर्षेनि दोहोरिने यो समस्याले किसानको मनोबल कमजोर बन्दै गएको छ ।
छथरजोरपाटीमा उत्पादन हुने तरकारी स्थानीय बजारमा मात्र खपत हुने अवस्था छैन । तराईका ठूला सहरमा नियमित बिक्री गर्ने स्थायी संयन्त्रको अभाव छ भने भारत र बङ्गलादेशजस्ता सम्भावित बाह्य बजारमा निर्यात गर्न प्रभावकारी पहल भएको छैन । प्राविधिक र यान्त्रिक सहयोगमार्फत उत्पादन बढाउन सहयोग गरिरहेको भए पनि कानुनी तथा नीतिगतरूपमा निर्यात व्यवस्थापन गर्ने अधिकार आफूहरूसँग नभएको स्थानीयतहका पदाधिकारी बताउँछन् ।
धनकुटाको छथरजोरपाटी क्षेत्रमा ठूलो परिमाणमा तरकारी उत्पादन हुने भए पनि किसानले कमसल बीउ, उत्पादनपछिको बजार व्यवस्थापन र भरपर्दो निर्यात प्रणालीको अभाव झेलिरहेका छन् । करिब पाँच हजार किसान परिवार ताजा तरकारी उत्पादनमा निर्भर रहेकाले उत्पादन वृद्धिको कार्यक्रमसँगै गुणस्तरीय र प्रमाणित बीउ उपलब्ध गराउने, देशभित्रै स्थायी बजार सुनिश्चित गर्ने तथा बाह्य बजारमा दीर्घकालीन निर्यातका लागि व्यवस्था मिलाउनेतर्फ सरकारको ध्यान जानुपर्ने किसानहरूको माग छ ।