सुक्खा र भिरालो बारीमा धान फलाउँदै धनकुटाका किसान

पालिकासरकारद्वारा अनुदानमा बीउ विरतरण गरी पाखेधान खेतीलाई प्रोत्साहन
भाद्र २८, २०८३ |विनोद घिमिरे
सुक्खा र भिरालो बारीमा धान फलाउँदै धनकुटाका किसान

धनकुटा । धनकुटाका किसान नियमित सिँचाइ सुविधा नभएको सुक्खा र भिरालो बारीमा फल्ने धानको खेती विस्तारमा लागेका छन् । 

विगतका वर्षमा परीक्षणका रूपमा केही गाउँमा लगाइएको धानले राम्रो उत्पादन दिएपछि किसानहरू खेतीको क्षेत्र विस्तारमा लागेका हुन् । पशुपालनका लागि परालसमेत उपयोगी हुने भएकाले स्थानीय तहले पनि पाखेधान खेतीलाई प्रोत्साहन गरिरहेका छन् ।

धनकुटा नगरपालिका ९ बाघखोरका मेहरमान बस्नेतले घरछेउको ९ रोपनी पाखोबारीमा धान रोपेका छन् । गएको वर्ष डेढ रोपनीमा एक किलो बीउ लगाउँदा पाँच मुरी धान उत्पादन भएपछि उनले यस वर्ष खेतीको क्षेत्र बढाएका हुन् । घर छेउको ९ रोपनी बारीमा लगाइएको धान निस्किएर बाला लाग्ने अवस्थामा पुगेको छ । 

सुक्खा सहने जातको धानले राम्रो उत्पादन दिइरहेको किसान बताउँछन् । धनकुटा बेलहराकै भीमप्रसाद रोइलाले चार रोपनी पाखोबारीमा धान लगाएका छन् । धानमा बाला निस्किएर फूल खेल्न थालेको छ । पाखोबारीमा लगाइएको धान गोडमेल गर्न पवित्रा राईलाई पनि भ्याइनभ्याइ छ ।

धनकुटा नगरपालिका ९ र छथर जोरपाटी गाउँपालिकाले यहाँका करिब एक हजार किसान परिवारलाई ५० प्रतिशत अनुदानमा पाखे धानको उन्नत बीउ वितरण गरेका छन् । भारतबाट ल्याइएको शंकर र उपज शंकर जातको धानको बीउ यहाँका किसानले तीनदेखि नौ रोपनीसम्म पाखोबारीमा लगाएका छन् । 

छथर जोरपाटीको तेलिया, ताँखुवा र बेलहराको, बाघखोर, थानी, रिपेनी, महाङ, साँवाबारी, खानीगाउँ र पाखाटोलका बारिमा पाखेधान लहलह छ । स्थानीय तहले बीउमा अनुदान दिएर खेती विस्तारमा सघाए पनि यसको व्यावसायिक सम्भावना खोज्ने गरी प्रदेश र संघीय सरकारका निकायबाट थप अनुसन्धान र प्रविधि विकासमा काम भएको छैन । 

किसानले आफ्नै प्रयासमा बारीमा लगाएको धानको उत्पादन सन्तोषजनक देखिए पनि यसलाई लक्षित गरी छुट्टै अनुसन्धान र प्रवर्द्धन कार्यक्रम नआएको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र राना बताउँछन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।