रसुवागढीको विकल्प बन्ला त किमाथाङ्का ? सडक र पूर्वाधारमै प्रश्न

भाद्र २८, २०८३ |विनोद घिमिरे|सुशीला पाठक|दीपेन्द्र शाक्य
रसुवागढीको विकल्प बन्ला त किमाथाङ्का ? सडक र पूर्वाधारमै प्रश्न

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी नाका तहसनहस पारेको र तातोपानी नाका पनि चीनले अस्थायीरूपमा बन्द गरेकाले नेपाल–चीन व्यापारका लागि पूर्वी नेपालको किमाथाङ्का नाकाको चर्चा फेरि चल्न थालेको छ । 

तर, विराटनगरको रानीदेखि संखुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटो वास्तवमै ठूला मालवाहक सवारी चल्न सक्ने अवस्थामा छ त ? 

तीन सय ६२ किलोमिटर लामो यो सडक कस्तो अवस्थामा छ ? 

सबैभन्दा महत्वपूर्ण कुरा यो नाकामा नेपाल र चीन दुवैतर्फ अन्तर्राष्ट्रिय व्यापार सञ्चालन गर्न आवश्यक पूर्वाधारहरू बनेका छन् कि छैनन् ? 

भारतको जोगबनीसँग जोडिएको मोरङको रानीबाट सुरु हुन्छ किमाथाङ्कासम्म पुग्ने उत्तर-दक्षिण व्यापारिक मार्गको पहिलो खण्ड । जोगबनीदेखि किमाथाङ्कासम्मको कुल तीन सय ६२ किलोमिटरमध्ये करिब दुईसय किलोमिटर सडक कालोपत्रे भइसकेको छ । 

रानीदेखि विराटनगर हुँदै इटहरी-धरानसम्म ४९ किलोमिटर छ । यो खण्ड माथिल्ला दुई खण्डको तुलनामा सबैभन्दा सहज छ । रानी-विराटनगर-इटहरी-धरान सडक ६ लेनमा विस्तार भएको छ । सडक विभागले यस खण्डको सबै ठाउँमा कालोपत्रे काम सम्पन्न भएको दाबी गरिरहँदा केही ठाउँमा विस्तारकै क्रममा देखिन्छ । 

भारत र तेस्रो मुलुकबाट आएका सामान बोकेका मालवाहक ट्रकले ओभरलोड सामान बोकेर आउने हुनाले सडक कहीँ धसेको, कहीँ अग्लो भएकाले दुर्घटनाको जोखिम उत्तिकै छ । सडक बोर्डमार्फत सडक डिभिजन कार्यालय विराटनगरलाई ६ लेन सडक मर्मत, सम्भारका लागि एक करोड ५० लाख रुपैयाँ प्राप्त भएर मर्मतका लागि अपन शिखा कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता भएको छ ।

धरानबाट उत्तर लागेपछि धनकुटाको भेडेटार, मूलघाट, हिले, पाख्रीबास हुँदै लेगुवाघाटसम्म करिब ९१ किलोमिटर कोशी राजमार्ग पर्छ । यो सडक कालोपत्रे भएको कोशी राजमार्ग हो । तर, सडकको चौडाइ साँघुरो छ भने पहाडी भूगोल भएकाले पहिरो झरिरहरन्छ । 

विगतमा लेउती खोलाको बाढीले यो खण्डमा सडक नै बगाएको घटना पनि छ । ठूलो वर्षा हुँदा निशाने खोला, खराने, लेउती, फलामेटारलगायतका स्थानमा माथिबाट गेग्रानसहितको माटो झर्ने समस्या छ ।

त्यस्तै लेगुवा-तुम्लिङटार-खाँदबारी ४८ किलोमिटर सडक पनि पक्की छ । तर, खाँदबारीदेखि किमाथाङ्कासम्म भने अझै ठूलो खण्ड कच्ची नै छ । उत्तर-दक्षिण व्यापारिक मार्गका रूपमा महत्त्वपूर्ण मानिएको यो सडक पूर्णरूपमा सञ्चालनमा आउन यस खण्डको स्तरोन्नति अपरिहार्य छ । 

तर, बाँकी सडक निर्माण तथा कालोपत्रेको काम समयमै सम्पन्न गर्न नसक्दा वर्षायाममा खाँदबारीदेखि चीनसँगको सीमावर्ती किमाथाङ्कासम्मको सडकमा यातायात सञ्चालनमा ठूलो समस्या छ । एक सय ६२ किलोमिटर लामो खाँदबारी-किमाथाङ्का सडकको हालसम्म २८ किलोमिटर मात्रै कालोपत्रे भएको छ । 

बाँकी १ सय ३४ किलोमिटर सडक कच्ची छ । उत्तर-दक्षिण सडक आयोजनाअन्तर्गत खाँदबारी-किमाथाङ्का सडकको ट्र्याक गत आर्थिक वर्षमा मात्रै खुलेको हो । बर्खामा खाँदबारीबाट करिब १ सय ४१ किलोमिटर दुरीमा रहेको छुमसुरसम्म सडक सञ्चालनमा छ । 

तर, छुमसुर क्षेत्रमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा थप समस्या छ । किमाथाङ्का चीनको चेन्ताङसँग जोडिएको परम्परागतरूपमा स्थानीय सीमा व्यापारका लागि प्रयोग हुँदैआएको नाका हो। 

सन् २०२४ मा कोभिडका कारण बन्द रहेका नेपाल-चीनका परम्परागत व्यापारिक नाकाहरू फेरि खोल्दा किमाथाङ्का-चेन्ताङ पनि खोलिएको थियो । तर, ठूलो मात्रामा चीनसँग यो नाकाबाट व्यापार सञ्चालन गर्न आवश्यक संरचना नेपालतर्फ बनेकै छैनन् । 

किमाथाङ्कामा भन्सार कार्यालय अस्तित्वमा छ । तर, स्थानीयका अनुसार अहिले पनि सीमा प्रवेश अनुमतिपत्र र भन्सारसम्बन्धी कामका लागि खाँदबारी धाउनुपर्ने अवस्था छ । अर्थात् किमाथाङ्कामा पूर्णक्षमताको आधुनिक भन्सार, गोदाम, क्वारेन्टाइन, बैंकिङ, एकीकृत जाँच प्रणालीजस्ता संरचना बनेका छैनन् । चीनतर्फ भने चेन्ताङमा सीमा जाँच, प्रहरी र अध्यागमन संयन्त्र छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।

Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।