एक सय दिनपछि सेयरबजारमा प्रधानमन्त्रीको ‘एक्सन’

श्रावण ४, २०८३ |सुदिल पोखरेल
एक सय दिनपछि सेयरबजारमा प्रधानमन्त्रीको ‘एक्सन’

काठमाडौं । एकसय दिनको कार्यकाल बितिसक्दा पनि सेयरबजारमा खास सुधार नदेखिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सेयर लगानीकर्तासँगै धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीसँग छलफल गर्नुभएको छ । 

भेटमा लगानीकर्ताले लगानीमैत्री वातावरण निर्माण, पुँजीगत लाभकर कुल नाफामा मात्रै लाग्ने बनाउनुपर्ने र इन्ट्रा-डे ट्रेडिङ, र सर्ट सेल जस्ता नयाँ खालका कारोबारको माग गरेका छन् । प्रधानमन्त्री शाहले भने सेयरलगानीकर्तालाई भयबिना ढुक्क भएर लगानी बढाउन र पुँजीबजारलाई रोजगारीसँग जोड्ने तयारीका साथ नीतिगत सुधार गर्ने आश्वासन दिनुभएको छ ।

अर्थतन्त्र शिथिल भएपछि सुधार हुन नसकेको सेयरबजार उकास्न प्रधानमन्त्री शाहले सोमबार सेयर लगानीकर्तासँगै यसका नियमनकारी निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीसँग छलफल गर्नुभएको छ । पुँजीबजारको नीतिगत सुधारका विषयमा पहिलो पटक प्रधानमन्त्री, बजार नियामक निकाय र लगानीकर्ताबीच एकै स्थानमा बसेर १ घन्टा लामो छलफल भएको हो । 

भेटमा लगानीकर्ताले पुँजीबजारको संरचनागत सुधार, बजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार सञ्चालन गर्न र आइपीओ प्रणाली सुधारसँगै, इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेल, जस्ता नयाँ कारोबार सुरु गर्न सरकारसँग माग गरेका छन् । साथै उनीहरुले बजारमा संस्थागत लगानीकर्ता बढाउनेसँगै नेप्सेको पुनर्संरचना गर्नसमेत सुझाएका छन् । 

लामो समयदेखि शिथिल बनेको सेयरबजारमा लगानीकर्ताको मनोबल बढाउने, नीतिगत अन्योल हटाउने र बजार कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री शाहले गम्भीर चासो राखेको लगानीकर्ता बताउँछन् ।

यसैगरी प्रधानमन्त्री शाहले पुँजीबजार अर्थतन्त्रको महत्त्वपूर्ण आधार र पुँजी परिचालनको प्रमुख माध्यमका रूपमा रहेको भन्दै लगानीकर्ताले उठाएका विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डसँग समन्वय गरेर थप सुधारगर्ने प्रतिबद्धता व्यक्त गरेको उनीहरुको भनाइ छ । 

साथै पुँजीबजारलाई के कसरी रोजगारीसँग जोड्न सकिन्छ र यसको विस्तारसँगै समग्र अर्थतन्त्र कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरेको उनीहरुको भनाइ छ । लगानीकर्ताले पुँजीगत लाभकर वृद्धि पुनर्विचार गर्न, नाफा-घाटा समायोजनपछि मात्र यस्तो कर लगाउने व्यवस्था लागू गर्न र मार्जिन कारोबार सहज बनाउन सरकारसँग आग्रह गरेका छन् ।

पछिल्लो केही वर्षदेखि नेप्से बढ्न सकेको छैन भने कारोबार रकम पनि न्यून हुँदै आएपछि लगानीकर्तामा निराशा छाएको छ । लामो समयदेखि सेयर बजारमा देखिएको शिथिलता र लगानीकर्तामा अन्योलता निराशा चिर्न यो छलफल केन्द्रित रहेको लगानीकर्ताको भनाइ छ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।