मेलमिलाप दिवसकै दिन असन्तुष्ट कांग्रेस नेताले दिए फुटका लागि तयार रहेको सन्देश

विवाद समाधान गर्न तयार रहेको संस्थापनको दाबी
श्रावण ६, २०८३ |प्रकाश बम
मेलमिलाप दिवसकै दिन असन्तुष्ट कांग्रेस नेताले दिए फुटका लागि तयार रहेको सन्देश

काठमाडौं । नेपाली कांग्रेसभित्र कलह बढ्दै जाँदा संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसकै दिन विभाजनको बीउ रोपिएको छ । 

संस्थापन पक्षले विशेष महाधिवेशनका नाममा पार्टी कब्जा गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले साउन २९ गते राष्ट्रिय भेला नै बोलाएको छ । १४औं र त्यसअघिका महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारी तथा नेताहरुले सम्मानजनक एकता नभए अब आफ्नो बाटो लिने चेतावनी दिइरहँदा अहिलेको नेतृत्वले भने उनीहरुलाई पार्टी प्रक्रियामै आउन बाध्य पार्न खोजेको देखिन्छ । 

बुधबार संस्थापन र असन्तुष्ट दुबै समूहले अलग अलग कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाउँदा के कांग्रेसले एकताका नाममा विभाजनको बाटो समाएकै हो ?

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४४औं स्मृति दिवसको नाराव संवाद, सहमति र एकता- आजको आवश्यकता भन्ने हो । तर, विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले पर्यावरण बचाउने भन्दै ग्रीन रन नामक दौड प्रतियोगिता गर्दा सम्मानजनक एकताको माग गरिरहेका असन्तुष्ट नेताहरु कार्यक्रममै गएनन् । 

बरु उनीहरुले काठमाडौंको कमलादीमा अलग्गै कार्यक्रम गरेर पार्टी नेतृत्वको चर्को आलोचना गरे । लोकतन्त्र ल्याउन, पार्टी अघि बढाउन र मुलुकको हितका लागि काम गरेका आफूहरुलाई उपेक्षा गरेर कांग्रेस बलियो नहुने भन्दै असन्तुष्ट पक्षले साउन २९ गते राष्ट्रिय भेला गरेर आफ्नो बाटो लाग्ने चेतावनी दिएको छ ।

यो समूहमा बीपीपुत्र शशांकदेखि गणेशमान पुत्र प्रकाशमानसम्म छन् । पूर्वपदाधिकारीहरु पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला लगायतले एउटै मञ्चबाट पार्टी सभापति गगन थापा र नेतृत्वको कडा आलोचना गरेका छन्। 

कांग्रेसको आत्मा र भावना आफूहरु भएको जिकिर गरेका उनीहरुले कलह समाधान नभए पार्टी विभाजन हुने घोषणा समेत गरे । पार्टी कार्यालय सानेपालाई चुनौती दिँदै चुनदेवीमा सम्पर्क कार्यालय खोलेको र सातै प्रदेशमा अलग्गै भेला गरेको असन्तुष्ट समूहलाई मनाउन संस्थापनले खासै बल लगाएको छैन । 

बरु विधि- पद्दतिअनुसार युवा नेतृत्व अघि बढ्ने र पूर्वनेताहरुलाई सम्मान पनि दिने भनेर वर्तमान कार्यसमितिले पार्टी प्रक्रिया र समयको लय मुख्य हो भन्ने सन्देश दिन खोजेको देखिन्छ । कांग्रेस नेताहरुले पार्टी बलियो नभए लोकतन्त्र कमजोर हुन्छ भन्ने गर्छन । 

तर, पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनभन्दा नेताहरुको व्यक्तिगत टसलकै कारण कांग्रेस कमजोर हुने गरेको विगतले देखाउँछ । अहिले पनि १४ महाधिवेशनको नियमित पक्षधर र विशेष महाधिवेशन पक्षधरका नाममा नेताहरु विभाजित हुँदा कांग्रेस विभाजन उन्मुख देखिएको हो । 

देश, जनता र कार्यकर्ताको नाममा एकताको कुरा गरे पनि दुई पक्षबीच सहमति भएन भने साउन २९ कांग्रेस विभाजनको दिन बन्न सक्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।