
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका दूध उत्पादनका लागि चिनिएको ठाउँ हो ।
यही पहिचानलाई व्यवसायमा रूपान्तरण गर्दै वडा नम्बर ३ डाँडागाउँका शिवबहादुर बस्नेतले गाउँमै दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्नुभएको छ । बस्नेतले उत्पादन गरेको कुराउनी अहिले स्थानीय बजारमा मात्रै नभइ काठमाडौंसम्म पुग्न थालेको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका शिवबहादुर बस्नेतको दैनिकी हरेक बिहान दूध संकलनबाट सुरु हुन्छ । गाउँभरिबाट संकलन गरिएको दूध ठूलो कराहीमा उमाल्ने, घण्टौँसम्म चलाएर कुराउनी बनाउने, त्यसलाई प्याकिङ गर्ने र ग्राहकसम्म पठाउने काममा उहाँको दिन बित्छ ।
बस्नेतको उद्योगमा उत्पादित कुराउनी धनकुटा, संखुवासभा, सुनसरी, मोरङ हुँदै काठमाडौंसम्म पुग्न थालेको छ । बस्नेत आफैंले पनि उन्नतजातका तीनवटा गाई-भैंसी पाल्नुभएको छ । श्रीमती, छोरा र बुहारी परिवारका सबै सदस्य यही व्यवसायमा आवद्ध छन् ।
दूध खेर जान नदिन कुराउनीसँगै घ्यू र छुर्पीसमेत उत्पादन गर्न थालिएको छ । अर्डरअनुसार दैनिक करिब ४० किलोसम्म कुराउनी बनाउने गरेको बस्नेत बताउनुहुन्छ । प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुने कुराउनीको माग बढ्दो छ ।
गाउँमै प्रशोधन उद्योग सञ्चालनमा आउँदा स्थानीय किसानले दूध बेच्न बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट राहत पाएका छन् । दुग्ध उत्पादनको सम्भावनालाई थप विस्तार गर्न महालक्ष्मी नगरपालिकाले डाडाँगाउँलाई गाई पकेट क्षेत्र घोषणा गरी लागत साझेदारीमा गाई, घाँसकाट्ने उपकरण उपलब्ध गराउनुका साथै र गोठ सुधारका लागि किसानलाई सघाइरहेको छ ।
महालक्ष्मी नगरपालिकाले वडा नम्बर १, ३ र ६ मा लागत साझेदारीमा उन्नत गाई-भैँसी वितरण, गोठ सुधार, घाँस खेती तथा सौर्य प्रणाली जडानजस्ता कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गरिरहेको हो । यहाँको घुमाउने, मूर्तिढुंगा र डाँडागाउँमा अहिले दूध उत्पादन मात्र होइन, त्यसको प्रशोधन र बजारीकरणको श्रृंखला पनि विस्तार हुँदै गएको छ ।