काठमाडौं । फिफा विश्वकप २०२६ को माहोल सेलाउँदै गर्दा यतिबेला विश्वभरका फुटबलप्रेमीहरूमा एउटा फरक खालको उत्साह छाएको छ। उत्तर अमेरिकामा करिब एक महिनासम्म चलेको विश्वकपको समापनसँगै अब फुटबल जगतको ध्यान क्लब फुटबलतर्फ मोडिएको हो । विश्वकप लगत्तै स्टार खेलाडीहरू पनि आ आफ्नो क्लबमा फर्कन थालेका छन् र युरोपका ठूला लिगहरू नयाँ सिजनका लागि पूर्ण रूपमा तयार देखिएका छन्।
युरोपेली क्लब फुटबलको नयाँ सिजनको सुरुवात इंग्लिस प्रिमियर लिगबाट हुँदैछ । अगस्ट २२ तारिखदेखि सुरु हुने तालिका सार्वजनिक भइसकेको छ । साविक विजेता आर्सनलले आफ्नो उपाधि रक्षाको यात्रा नवप्रवेशी क्लब कोभेन्ट्री सिटीसँगको घरेलु खेलबाट सुरु गर्नेछ । कोभेन्ट्रीका लागि यो २५ वर्षपछिको प्रिमियर लिग पुनरागमन निकै विशेष हुने देखिएको छ । यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटी पेप ग्वार्डिओला बिनाको नयाँ युगमा प्रवेश गर्दैछ भने म्यानचेस्टर युनाइटेडमा माइकल क्यारिकले पूर्ण जिम्मेवारी सम्हालेका छन् । कोभेन्ट्रीसँगै हल सिटी र इप्सविच टाउनजस्ता नवप्रवेशी क्लबहरूको प्रदर्शन यो सिजनको मुख्य आकर्षण रहनेछ ।
यता स्पेनमा ला लिगाको सिजन अगस्ट १५ बाट सुरु हुँदैछ । साविक विजेता बार्सिलोनाले एथलेटिक क्लबविरुद्ध खेल्दै सिजनको सुरुवात गर्नेछ भने जोसे मोरिन्होको नेतृत्वमा रहेको रियल म्याड्रिडले आफ्नो पहिलो खेलमा रियल सोसिडाडको सामना गर्नेछ । फुटबल प्रेमीहरूले यो सिजनको पहिलो 'एल क्लासिको' का लागि अक्टोबर २६ सम्म कुर्नुपर्नेछ । मार्क कुकुरेला , डेन्जल डमफ्रिस र ब्रनाडो सिल्भाको आगमनले रियल म्याड्रिडको टोली थप शक्तिशाली देखिएको छ भने हन्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोना पुनः उपाधि होडमा बलियो देखिएको छ ।
जर्मनीको बुन्डेसलिगा भने केही ढिलो अर्थात् अगस्ट २९ देखि सुरु हुनेछ । साविक विजेता बायर्न म्युनिखले भिआइएफबी स्टुटगार्टविरुद्ध खेल्दै आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ । प्रशिक्षक विन्सेन्ट कोम्पनीको नेतृत्वमा रहेको बायर्नले घरेलु ट्रेबल जित्ने लक्ष्य राखेको छ भने निको कोभाचको प्रशिक्षणमा रहेको बोरुसिया डर्टमन्ड र बायर लिभरकुजेनले बायर्नको अधिपत्य तोड्ने रणनीति बनाउने छन् । यो सिजन साल्के ०४ जस्तो क्लबको पुनरागमनले लिगमा थप उत्साह थपेको छ ।
इटालीमा सिरि ए को सिजन अगस्ट २२ मा सुरु हुने तालिका छ । साविक विजेता इन्टर मिलानले मोन्जाविरुद्ध खेल्दै सिजनको ओपनिङ गर्नेछ । यो सिजन सिरि ए मा ठूला क्लबहरूमा प्रशिक्षक परिवर्तनको लहर देखिएको छ, जसमा म्यासिमिलानो एलेग्री नेपोलीमा र रुबेन अमोोरिम एसी मिलानमा अनुबन्धित भएका छन् । यस्तै फ्रान्समा लिग वान अगस्ट २२ देखि सुरु हुनेछ, जहाँ पिएसजीले रेनेसविरुद्ध खेल्दै लगातार छैटौं पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
यस पटक युएफ च्याम्पियन्स लिगको सुरुवात सेप्टेम्बर ८ बाट हुनेछ । यो सिजनको फाइनल आगामी वर्ष जुन ५ मा म्याड्रिडमा हुने तय भएको छ । सिजनको पहिलो युरोपेली उपाधिका लागि भने च्याम्पियन्स लिग विजेता पिएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबीच अगस्ट १३ मा सुपर कप खेलिनेछ ।
भर्खरै सम्पन्न विश्वकपले यो सिजनको क्लब फुटबलमा प्रभाव पार्ने देखिएको छ । स्पेनका लामिन यमाल जस्ता युवा स्टारहरूको भ्यालु आकाशिएको छ भने अर्जेन्टिना र स्पेनका खेलाडीहरू विश्वविजेताको मनोबलका साथ क्लबमा फर्किएका छन् । यद्यपि, विश्वकपको थकान र फिफाको अनिवार्य २१ दिनको विश्राम नियमका कारण कतिपय ठूला खेलाडीहरूले सिजनका सुरुवाती खेलहरू गुमाउन सक्ने देखिएको छ, जसलाई व्यवस्थापन गर्नु क्लबहरूका लागि मुख्य चुनौती हुनेछ ।
ट्रान्सफर विन्डोको कुरा गर्दा, यो सिजन रोबर्ट लेवान्डोस्की र क्यासेमिरो जस्ता भेट्रान खेलाडीहरू युरोप छाडेर अमेरिकातर्फ लागेका छन् । सेप्टेम्बर १ सम्म चल्ने यो ट्रान्सफर विन्डोमा मार्कस रासफोर्ड जस्ता खेलाडीहरूको भविष्यलाई लिएर अझै पनि अन्योल छ ।
विश्वकपको समापनबाट क्लब फुटबलको सुरुवातसम्मको यो छोटो अवधिमा फुटबलको उत्साह भने रोकिएको छैन । विश्वकपका ३३ दिनपछि सुरु हुन लागेका यी ठूला लिगहरूले नयाँ स्टार, नयाँ प्रतिद्वन्द्वी र उपाधि होडका साथ पुनः विश्वभरका खेल प्रेमीहरूलाई मनोरञ्जन दिनेछ ।