बुटबल । कुनैबेला उत्पादनको ८० प्रतिशत धागो भारतीय बजारमा पठाउने सरकारी स्वामित्वको बुटवल धागो कारखाना झन्डै २ दशकदेखि बन्द छ । कारखाना मृत:प्राय छ अहिले । कारखाना सञ्चालनका लागि पटक पटक समिति बने तर, कारखाना खुलेन। यसपालि सरकारले फेरि समिति बनाएर कारखाना सञ्चालनका लागि प्रक्रिया थालेको छ।
बुटवलको यो बुटवल धागो कारखानामा २०६४ देखि उत्पादन ठप्प छ। विदेशमा धागो निर्यात गर्ने उद्देश्यले करिब ३८ करोड रुपैया लगानीमा २०३९ सालमा बुटवल धागो कारखाना स्थापना भएको थियो। धागो कारखानाले सुरुवातमा वर्षमा करिब ८० प्रतिशत धागो भारतीय बजारमा निर्यात पनि गरेको थियो । तर कहिले व्यवस्थापन त कहिले सरकारी कमजोरीका कारण स’रुवातदेखि नै यो धागो कारखाना पटक पटक बन्द हुने र खुल्ने हुँदै आयो। पछिल्लो समय २०६४ सालयता कारखानाको उत्पादन ठप्प छ। २०६६ भदौमा सबै मजदूरलाई अनिवार्य अवकाश दिएपछि अहिले जम्मा ३ जना कर्मचारीले बन्द कारखाना कुरेर बसेका छन् । ७९ प्रतिशत सरकारी लगानी रहेको यही मृत प्राय कारखाना पुन संचालनका लागि सरकारले अध्ययन थालेको छ। कारखानाको वास्तविक अवस्था र संचालनको नयाँ खाका तयार पार्न अर्थ मन्त्रालयका सिए कृष्णकुमार भट्टराईको नेतृत्वमा पााच सदस्यीय टोली खटेको हो ।
बुटवल १० रामनगरमा औद्योगिक क्षेत्रको १ सय ४४ रोपनी क्षेत्रफलमा फैलिएको बुटवल धागो कारखानाको अवस्था अहिले खण्डहरजस्तै छ । कारखाना परिसरका ६ वटा ठूला भवन छाना चुहिने भएका छन् । कारखानाका करोडौं रूपैयाँ मूल्यका मेसिन तथा उपकरणमा खिया लागेर बिग्रिएका छन् । पार्टपुर्जा काम नलाग्ने अवस्थामा पुगेका छन् । कारखानाको अवस्था देखेका बुटवलका व्यवसायीहरु यीनै उपकरण र अवस्थामा धागो कारखाना संचालन हुन नसक्ने दाबी गर्छन् ।
दैनिक १० मेट्रिक टन धागो उत्पादन क्षमता भएको बुटवल धागो कारखानामा पटक-पटक हड्ताल भएपछि ऋणमा डुबेको थियो । २०६० सालमा सरकार र वित्तीय संस्थाले कारखानाको १ अर्ब ४० करोड रुपैयाँको साँवा र ब्याजसमेत मिनाहा गरि दिए पनि सप्रन सकेको थिएन । २०६६ सालमा ४०२ जना कर्मचारीलाई करिब ४८ करोड रुपैयाँसहित 'पे-अफ' गरेर बिदाइ गरिएको थियो। कारखानामा ६० करोड रुपैयाा अधिकृत पूँजी, ४५ करोड रुपैयाँ जारी पूाजी र ३७ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। यस्तो अवस्थामा बुटवल धागो कारखानामा सरकारले नै चलाउने कुरा असम्भव प्राय छ । यसर्थ यहा भएको भौतिक संरचना र मसिनरी उपकरणको मूल्यांकन गरी सरकारले लिजमा दिने वा अरु प्रक्रियाद्धारा अन्य उद्योग चलाउन उचित देखिन्छ।