आर्थिक सर्वेक्षणमा के छन् मुख्य कुरा ?

जेष्ठ १३, २०८३ |सुदिल पोखरेल
आर्थिक सर्वेक्षणमा के छन् मुख्य कुरा ?

काठमाडौं । एक वर्ष अवधिमा देशमा सडक, सिँचाइ, उर्जा पूर्वाधारलगायतमा प्रगति देखिएको छ ।

अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा देशभर ६ सय ७४ किलोमिटर सडक विस्तार भएको र कुल १ हजार ५ सय ७० हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको जनाएको छ । 

आर्थिक सर्वेक्षणमा के छन् मुख्य कुरा ?

गत असारयता अर्थात् चालु आर्थिक वर्षको ८ महिनामा ४ सय १३ किमी सडक कालोपत्रे भएको छ । गत वर्षको सोही अवधिमा ३ सय ५५ किमीमात्रै सडक पिच भएको थियो । ग्राभेल सडक ९१ किमीमात्रै विस्तार भएको छ भने कच्ची सडक यो बिचमा ७६ किमी थपिएको अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारअन्तर्गत सञ्चालित सिँचाइ आयोजनामार्फत १ हजार ४ सय ५० हेक्टर र जलाशय तथा लिफ्ट सिँचाइमार्फत १ सय २० हेक्टर गरी कुल १ हजार ५ सय ७० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ।

यससँगै २०८२ फागुनसम्म देशभर कुल १५ लाख ८७ हजार ९ सय १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । २०८२ असारसम्म १५ लाख ८६ हजार ३ सय ४० हेक्टरमा सिँचाइ पुगेको थियो । वैकल्पिक ऊर्जासहित देशभर विद्युत् पहुँच ९९ दशमलव १ प्रतिशत जनसंख्यामा पुगेको छ । 

जुन गत वर्षको फागुन मसान्तसम्म ९९ प्रतिशत थियो । गत असारयता १ सय १९ किमि प्रसारणलाइन विस्तार भएको छ । २०८२ असारसम्म कुल ७ हजार १ सय ६१ सर्किट किलोमिटर रहेको प्रसारण लाइन २०८२ फागुनसम्म बढेर ७ हजार २८० सर्किट किलोमिटर पुगेको छ।

न्यून पुँजीगत खर्च र सुस्त कर्जा लगानीका बावजुद पनि कुल लगानीमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा कुल लगानी १० दशमलब ७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्षमा बढेर १५ दशमलब ६ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा कुल लगानी करिब २१ खर्ब ७ अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय, प्रदेश र स्थानीय तहका सरकारको पुँजीगत खर्च तुलनात्मक रूपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने देखिएको पनि सर्वेक्षणमा उल्लेख छ । 

सहकारी क्षेत्रमा ३२ हजारभन्दा बढी संस्थामा १ करोड १ लाख सदस्य आबद्ध रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस्तै, नेपालीको औसत आयु ७१ दशमलब ३ वर्ष रहेको र स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १ सय ५१ र ५ वर्ष मुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ ।

२०८१ फागुनसम्म आधारभूत खानेपानीको पहुँच ९६ दशमलब आठ-पाँच प्रतिशतमा रहेकामा यो फागुनसम्म ९७ प्रतिशत जनसंख्यामा पुगेको छ । सुरक्षित खानेपानीको पहुँच साढे २८ प्रतिशत जनसंख्यामा रहेकामा अहिले २९ प्रतिशतमा पुगेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३६ लाख ४१ हजार पुगेको छ, जसमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकको संख्या ४६ दशमलव १४ प्रतिशत रहेको छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।