
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाका अति सीमान्तकृत थामी समुदायले आफ्नै मौलिक पहिचान 'अल्लो'मार्फत गाउँमै भविष्य खेजिरहेको छ ।
एक समय परम्परामा सीमित अल्लो अहिले स्थानीयको आम्दानीको स्रोत बनेको हो । दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाकी ३० वर्षीया दिलमाया थामी घरधन्दा सकिएपछि गाउँकै अल्लो प्रशोधन उद्योग पुग्नुहुन्छ । घरायसी जिम्मेवारीबाट बचेको समय उहाँले अल्लोको धागो र कपडा उत्पादनमा खर्चिनुहुन्छ ।
यही श्रमले उहाँको परिवारको आयआर्जनमा धेरथोर टेवा पुर्याइरहेको छ । अल्लो थामी जातिको पहिचान र संस्कृतिसँग जोडिएको सम्पत्ति पनि हो । केही वर्षअघि लिएको तालिमले दिलमाया अल्लोको धागो बनाउनेदेखि कपडा बुन्नेसम्म काम गर्नसक्ने हुनुभएको छ ।
देवीमाया थामीको पनि कात्तिकदेखि माघसम्मको समय जंगलबाट अल्लो संकलन गर्ने काममै बित्छ । त्यसपछि पकाउने, धुने, रेसा निकाल्ने र धागो बनाउने काम सुरु हुन्छ । गाउँमै उद्योग खुलेपछि आफ्नो समुदायका महिलाहरूले रोजगारीसँगै आफ्नै पहिचानलाई जोगाउने अवसर पाएकोमा उहाँ खुसी हुनुहुन्छ ।
गाउँ आसपास प्रसस्त पाइने अल्लोको व्यावसायीक उपयोगबारे केही वर्षअघिसम्म पनि डडुवाका थामी समुदाय जानकार थिएनन् । तर, तालिम, सीप, भवन र केही उपकरणको सहयोगपछि अहिले यही अल्लोको कपडा बनाएर गाउँमै धेरथोर आम्दानी गर्न सक्षम भएका छन् ।
२०८० सालमा स्थानीय थामी समुदायका नौ जनाको साझेदारीमा स्थापना भएको शैलुङ अल्लो प्रशोधन उद्योगले अहिले वार्षिक ५ लाख रुपैयाँ बराबरको कपडा उत्पादन गर्छ । यहाँ गलबन्दी, खादा, कोट-पाइन्टको कपडा उत्पादन हुन्छ । उत्पादित कपडा सिक्किम, दार्जिलिङ, झापा, दोलखा, काठमाडौंसम्म पुग्ने गरेको छ।
उद्योगले काम गर्ने श्रमिकलाई उत्पादनसँगै तत्काल ज्याला भुक्तानी गर्ने व्यवस्था गरेको छ। यसले विशेष गरी महिलाहरूलाई नियमित आम्दानीको अवसर दिएको छ। यहाँ काम गर्ने श्रमिकले एक मिटर कपडा बुन्दा २ सय रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । तर, बजार विस्तार, आधुनिक मेसिन र भौतिक पूर्वाधारको अभाव भने उद्योगका मुख्य चुनौती बनेका छन्।
डडुवाको अल्लो उद्योग सीप र स्थानीय स्रोतलाई सहीरूपमा उपयोग गर्न सकियो भने गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । बजार, प्रविधि र सरकारी सहयोग थपिने हो भने अल्लो केवल थामी समुदायको पहिचान मात्र होइन, रामेछापको ग्रामीण क्षेत्रको आर्थिक गतिविधिको बलियो आधार बन्नसक्ने देखिन्छ ।