
काठमाडौं । ललितपुरको जावलाखेलमा हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाउने गरिन्छ ।
३२ हात अग्लो रथमा चढेर 'यो भोटो कसको ?' भन्दै हरेक वर्ष ललितपुर गुठी संस्थानका अधिकारीले आम मानिसलाई सोध्छन् । तर, न अहिलेसम्म कोही 'भोटो मेरो हो' भन्दै गएका छन् न सोध्ने क्रम नै रोकिएको छ ।
तपाईँलाई थाहा छ, लिच्छवी कालदेखि मनाउँदै आइएको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन देखाइने भोटो कसको हो ?
प्रत्येक वर्षझै यसपालि पनि रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौं दर्शकका सामु बहुमूल्य नवरत्न जडित भोटो देखाइयो । मच्छिन्द्रनाथका पुजारी पानेजुहरुको जिम्मामा रहेको र कपडाको थैलीमा सिलबन्दी गरी राखिएको भोटो निकालेर गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले सबैलाई सोध्नुभयो, 'यो भोटो कसको ?' रथको चारै दिशामा उभिएर ३/३ पटक उहाँले सबैलाई भोटो देखाउनुभयो ।
रातो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीहरुले करुणामय अवलोकेश्वरको रुपमा पुज्ने गर्दछन् । लिच्छविकालीन किवंदन्ति अनुसार नागराज कर्कोटककी रानीको आँखामा रोग लागेको र कसैले पनि निको पार्न सकेनन् । भक्तपुरका एक ज्यापू बैद्यले उपचार गरिदिएपछि नागराज खुसी भई पुरस्कारबापत किसानले बहुमूल्य भोटो दिएको उल्लेख छ ।
किसानले खेतको डिलमा राखेको उक्त भोटो चोरी भएको तथा भूतले लगाएको देखेपछि किसान र भूतबीच लामो समय विवाद भयो । पछि विवाद सुल्झाउने जिम्मा मच्छिन्द्रनाथ कहाँ पुगेको थियो । त्यसपछि मच्छिन्द्रनाथकै सक्रियतामा हरेक वर्ष जात्राको अन्तिम दिन 'भोटो कसको हो ?' भनी देखाउने थालिएको हो ।
लिच्छवी राजा नरेन्द्रदेवको पालमा १२ वर्षसम्म पानी नपरेर खडेरी र अनिकाल लागेपछि भारतको कामरु कामक्षबाट मच्छिन्द्रनाथ प्रवेशले वर्षा भएको स्मरणमा मच्छिन्द्रनाथको जात्रा मनाउन थालिएको हो । पर्यावरणविद् नारायणप्रसाद कोजूको नेतृत्वमा विभिन्न विश्वविद्यालयका विज्ञहरुले सालकको डीएनए परिक्षणसहित गरेको अनुसन्धानको क्रममा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएको र सुख्खा भएको वैज्ञानिक रुपमा प्रमाणित भएको छ।
भोटो जात्राको अवलोकन गरे रोग नष्ट हुने र परिवारमा सुख शान्ति मिल्ने जनविश्वास छ । धार्मिक तथा ऐतिहासिम महत्वको भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुभयो । प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक भोटो देखाउने जात्रामा सहभागी हुनुभयो।
भोटो जात्रामा मन्त्री, सांसदसहित उच्चपदस्थ अधिकारीसँगै हजारौंको उपस्थिति रहेको थियो । यो वर्ष मच्छिन्द्रनाथको रथजात्रा वैशाख ८ गते पुल्चोकबाट सुरु भएको थियो । ६०औं दिनमा भोटो देखाएसँगै जात्रा सम्पन भएको छ । यो जात्रालाई मुलुककै लामो अवधिसम्म मनाइने जात्राका रुपमा लिइन्छ ।