२४ वर्षपछि विश्वकप फर्किएको टर्किए कहाँ चुक्यो ?

असार ६, २०८३ |अभय बस्नेत
२४ वर्षपछि विश्वकप फर्किएको टर्किए कहाँ चुक्यो ?

काठमाडौं । विश्वकपमा हाइटीलाई पछ्याउँदै टर्किए पनि समूह चरणबाटै बाहिरिएको छ । तर, धेरैका लागि यो अप्रत्याशित नतिजा हो । 

सन् २००२ को विश्वकपमा फ्रान्स र अर्जेन्टिनाजस्ता फ्यान्स फेभरेट टोली समूह चरणबाटै बाहिरिँदा आश्चर्यचकित बनाउने गरी टर्किएले तेस्रो स्थान हासिल गरेको थियो । त्यसयता डार्क हर्स भनिँदै आएको यो टोली यसपालि कहाँ चुक्यो त ?

२१ मार्च २०२६ मा कोसोभोलाई हराउँदै २४ वर्षपछि टर्किए विश्वकपमा फर्किएपछि धेरैलाई लागेको थियो- ऊ ‘डार्क हर्स’ बन्नेछ । तर, समूह चरणको दोस्रो राउन्डमै टर्किए विश्वकप २०२६ मा बहिरिने हाइटीपछिको दोस्रो टोली बनेको छ ।

टर्किएले आफ्ना दुई खेलमा गोल गर्ने टन्नै अवसर पाएको थियो, तर जाली भने एकपटक पनि चुम्न सकेन । तथ्यांक नै हेर्ने हो भने पनि अस्ट्रेलियाविरुद्ध ३० र पाराग्वेविरुद्ध ३२ गरी जम्मा ६२ पटक गोलको प्रयास गर्दा पनि टर्किएले एउटै गोल गर्न सकेन । सन् १९६६ यताको विश्वकप इतिहासमा कुनै पनि टोलीले सुरुआती दुई खेलमा यति धेरै प्रहार गरेर गोल गर्न नसकेको यो पहिलोपटक हो ।

हुन त टर्किएलाई प्रायः अन्तर्राष्ट्रिय प्रतियोगितामा डार्क हर्स नै भनिन्छ । २०२४ को युरो कपमा क्वार्टरफाइनल पुगेर उसले आफूलाई प्रमाणित पनि गरेको हो । तर, जारी विश्वकपमा अस्ट्रेलिया, पाराग्वे र अमेरिका जस्ता टोली सम्मिलित समूहबाट पनि नकआउटमा पुग्न नसक्नुले उसको डार्क हर्सको उपनाममै प्रश्न उठ्छ ।

त्यसो भए किन असफल भयो त टर्किए ?

प्रशिक्षक भिन्सेन्जो मोन्टेलासँग स्टार मिडफिल्डरहरू भए पनि टोलीमा प्रभावशाली नम्बर ९ स्ट्राइकरको अभाव खड्कियो । जसकारण बल पोजेसनमा हाबी भए पनि उसले त्यसलाई गोलमा बदल्न सकेन । अस्ट्रेलियाविरुद्ध ७२ र पाराग्वे विरुद्ध ७९ प्रतिशत बल टर्किएले आफ्नो नियन्त्रणमा राखेको थियो । 

अझ पाराग्वे त दोस्रो हाफमा १० जनामा सीमित हुँदा पनि टर्किएले गोल गर्न सकेन । टर्किएको असफलताको अर्को कारण हो- ओभरकन्फिडेन्स । कप्तान चालानोग्लुले पहिलो खेलअघि आफूहरू अस्ट्रेलियाभन्दा बढी प्रतिभाशाली भएको दाबी गरेका थिए । 

अर्कोतर्फ, रियल मड्रिडका स्टार आर्डा गुलेरले पनि सोचेअनुरूप प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक मोन्टेलाले आफ्ना खेलाडीहरूको बचाउ गर्दै उनीहरूले अन्तिम समयसम्म लडेको बताएका छन् । तर, २४ वर्षपछि विश्वकप फर्किएको टोली अन्तिम खेलअघि नै बाहिरिनुपर्ने अवस्था आउँदा समर्थकका लागि असह्य नै हुन्छ ।

सन् २००२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको अनि २०२४ को युरो कपमा क्वार्टरफाइनल पुगेको यही टोलीमा आज गोलको खडेरी परेको छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।