
दोलखा । गएको वर्षसम्म दोलखाको शैलुङ क्षेत्रमा उत्पादित तरकारी सडककै कारण बाटोमा फाल्नुपर्ने अवस्था थियो ।
हिलाम्मे सडकमा तरकारी ढुवानी गर्ने गाडी चल्न नसकेपछि किसान तरकारी बारीमै कुहाउन बाध्य हुन्थे । ठेकेदारले सडककै कारण देखाएर निकै तरकारीसमेत सस्तोमा लैजान गरेका थिए । तरकारी पकेट र पर्यटकीय क्षेत्र शैलुङ पुग्ने मुढेदेखि ढुङगेसम्म सडक कालोपत्रे भएपछि भने त्यहाँका स्थानीयले राहत पाएका छन् ।
६ वर्षअघि ठेक्का लागेको दोलखाको शैलुङ गाउँपालिका जोड मुडे-ढुङगेसम्मको यो सडक यहाँका किसानको लाइफलाइन हो । वर्षाैंदेखि कहिले हिलाम्मे सडकमा ढुवानीका साधन फसेर तरकारी बाटोमा फलेर फर्कनुपर्ने त कहिले कौडीको भाउमा तरकारी ठेकेदारलाई बेच्नुपर्ने समस्या ।
ट्रयाक खुलेको करिब ३ दशकमा सडक कालोपत्रे भएपछि यस भेगका किसानको वर्षौंदेखिको सपना पूरा हुँदैछ । सडक धमाधम कालोपत्रे भइरहेको छ । जसका कारण आलुसहित काउली, मुलालगायतका तरकारी यो बर्खामा सहजरूपमा ढवानी हुने आशाले किसान उत्साहित छन् ।
दोलखाको शैलुङ क्षेत्रबाट वार्षिक ७० करोडभन्दा बढीको आलु, काउली, बन्दालगायतका तरकारी काठमाडौंलगायतका बजारमा जाने गर्छ । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले १६ दशमलव ५ किलोमिटर सडकको ३१ करोड ठेक्का लगाएको हो ।
सडक पहिल्यै बनिसक्नुपर्ने भए पनि निर्माण पक्षले कोभिडलगायतका समस्याका कारण समयमा काम हुन नसकेको भन्दै काममा ढिलाइ भएको दाबी गरेको छ । आउँदो असार १५ गते सडक निर्माण सकेर हस्तान्तरण गर्ने ठेकेदार कम्पनीको दाबी छ । पूर्वाधार विकास कार्यालयले भने दिएको समय सीमामा काम नसकिए निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
तरकारी पकेट क्षेत्रको लाइफलाइन यो सडक १० किलोमिटर दुईतर्फी कालोपत्रे भइसकेको छ भने थप ६ दशमलव ५ किलोमिटर एकतर्फी कालोपत्रे सकिएर दुईतर्फको तयारी भइरहेको छ । शैलुङ तरकारी पकेट क्षेत्र मात्रै नभएर पर्यटकीय गन्तव्य पनि हो । यो सडक कालोपत्रे भएसँगै यस भेगमा बाह्रै महिना पुग्न सकिन्छ । जसका कारण यस भेगका किसान मात्रै नभएर होटल व्यवसायी पनि उत्साहित बनेका छन् ।