घर बनाउने सपना कि संघर्ष ? काठमाडौंमा एक करोड बिना आश्रय असम्भव जस्तै

वैशाख २०, २०८३ |सुदिल पोखरेल
घर बनाउने सपना कि संघर्ष ? काठमाडौंमा एक करोड बिना आश्रय असम्भव जस्तै

काठमाडौं । नागरिक आफ्नो इच्छाले सुकुम्वासी बन्दैन। 

कसैलाई द्वन्द्व र प्राकृतिक विपद्‌ले सुकुम्वासी बनाउँछ। कोहि रोजगारी र अवसरबाट वञ्चित हुँदा पनि सुकुम्वासी हुन्छ। कुनै समय ठिकठाकको जीवनयापन गरिरहेको परिवार पनि सहरको संघर्षमा गरिबीको किनारामा पुग्न सक्छ। यसै पनि देशका कुल ६६ लाख ६० हजार परिवारमध्ये १२ दशमलब ८ प्रतिशत भाडामा बस्छन्। 

नियमित आम्दानी पनि नहुने र भाडासमेत तिर्न नसक्नेहरू काठमाडौंका खोला किनारामा छाप्रो बनाएर आश्रय लिँदै आएका थिए । अहिले सरकारले काठमाडौंसहित देशभर सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउने अभियान चलाउँदा कैयन परिवार आश्रयविहीन भएका छन् । तर, काठमाडौंमा आफ्नै घर बनाएर बस्न पनि अहिलेको महंगीमा निकै कठिन छ। 

यस्तोमा मानिसहरूको आयस्तर नबढेसम्म नागरिकको जीवनस्तर जोखिममै परिरहनेछ। काठमाडौं उपत्यकामा घर बनाउन कम्तिमा ३ आना जग्गा हुनुपर्छ । रिङरोडभित्र अहिले आनाको नै ६० देखि ६५ लाख पर्छ भने रिङरोडबाहिर तीन किमीभित्र आनाको ३० देखि ३५ लाख पर्छ । 

रिङरोडबाहिर ५ किमिसम्म टाढा जाँदा २५ देखि ३० लाख रूपैयाँ प्रति आनामा जग्गा पाइन्छ । उपत्यकामा नै बस्ने र सस्तो जग्गा खोज्ने हो भने लेले, चाँगुनारायण तथा सुन्दरीजलजस्ता क्षेत्रमा १८ देखि २० लाख आनामा पाइने व्यवसायीहरू बताउँछन् । 

यसो गर्दा एउटा घर बनाउन जग्गाका लागि ६० लाख र एक तले घर बनाउन ४० देखि ४५ लाख लाग्ने देखिन्छ । सरदर हिसाब गर्दा एक तलाको घर निर्माणका लागि सिमेन्ट ६ लाख, इट्टा ६ लाख, बालुवा २ लाख तथा कामदारको ज्याला ४ लाखलगायत गरी करिब ४५ लाख लाग्ने व्यवसायी बताउँछन् ।

यसरी घर-जग्गाका लागि एक करोड बराबर लाग्दा ४० लाख जति आफूसँग हुनेले बैंकबाट ६५ लाखसम्म निकाल्न सक्छन् । तर, त्यसका लागि ऋणीसँग मासिक ५८ हजार तिर्ने क्षमता हुनुपर्छ । अहिले ७ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा यस्तो हिसाब निस्किए पनि केही ब्याजदर बढ्दा त्यो पनि थेग्ने क्षमता राख्नुपर्छ । 

जसका लागि परिवारको आम्दानी कम्तिमा १ लाख जति हुनपर्ने देखिन्छ । १ लाखभन्दा तलको मासिक आम्दानी हुने परिवारले सेयरबजार तथा अन्य लगानीका माध्यमबाट रकम कमाउनुपर्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल परिवारमध्ये १२ दशलमव आठ प्रतिशत भाडामा बस्ने गरेका छन् । 

भाडा तिर्न नसक्ने र नियमित आम्दानी गर्न नसक्नेहरू खोला किनारामा छाप्रो बनाएर बस्दै आएका थिए । तर, अहिले खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासीका बस्ती खाली गर्ने सरकारको अभियानले सहरी बसोबास व्यवस्थापनको समस्या बढ्ने देखिन्छ । 

यसका लागि सरकारले कम्पनी निर्माण गरि सहरनजिकका सस्ता क्षेत्रमा सस्ता घर बनाएर व्यवस्थापन गर्न सक्छ । कोही मान्छेलाई सुकुम्बासी बन्नबाट कसरी रोक्न सकिन्छ त ?

सुकुम्बासी सबै एकै कारणले बन्दैनन् । कोही व्यक्ति कुलतमा फसेर सुुकुम्वासी हुन्छन् त कोही गरिबीबाट बाहिर निस्किन नसक्दा । बेरोजगारी र सहरी क्षेत्रमा बसोबास गर्ने चाहनाका कारण पनि सुकुम्वासी बन्छन् । अंशबन्डा गर्दा ग्रामीण भेगमा न्यून जग्गा हात पर्नु र प्राकृतिक प्रकोपका कारण समेत कोही सुकुम्बासी बन्छन् । 

त्यसैले सरकारले आवश्यक रोजगारीसहित सहरबाट द्रुत गतिका सडक निर्माण गरी बस्ती बसालेर पनि घरको चाहना पूरा गरिदिन सक्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।