सुपारी आयात र तस्करीले स्वदेशी किसान संकटमा, पूर्वी नेपालको उत्पादन दबाबमा

वैशाख १८, २०८३ |रमा दाहाल
सुपारी आयात र तस्करीले स्वदेशी किसान संकटमा, पूर्वी नेपालको उत्पादन दबाबमा

झापा । पूर्वी नेपालका इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर सुपारी उत्पादन हुने क्षेत्र हुन्। 

तर, नेपालमै पर्याप्त उत्पादन हुँदाहुँदै पनि विदेशबाट आयात हुने सुपारी र त्यससँग जोडिएको तस्करीका कारण वास्तविक किसान भने मर्कामा परेका छन्। आयातित सुपारीसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँको सुपारी व्यवसाय संकटमा पर्दै गएको छ।

पूर्वी नेपालका इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर पुस्तौंदेखि सुपारी खेती हुँदै आएको छ । यहाँ उत्पादन हुने सुपारी प्रशोधनका लागि झापामा मात्र दर्जन हाराहारी उद्योग सञ्चालनमा छन् । तर, पछिल्ला वर्षहरूमा बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले न त सुपारी उत्पादक किसानले सोचेजस्तो आम्दानी लिन पाएका छन्, न उद्यमी नै अहिलेको बजारबाट सन्तुष्ट हुन सकेका छन् ।

नेपालमा पर्याप्त उत्पादन हुँदाहुँदै पनि व्यापारीले कम गुणस्तरको सुपारी विदेशबाट आयात गरेर पुनः भारततर्फ निकासी गर्ने गरेको आरोप लाग्दै आएको छ। यसले तस्करी प्रोत्साहन मात्र नभइ, स्थानीय किसानलाई प्रत्यक्ष घाटा भइरहेको छ । सरकारले पनि मुख्य सिजनमै एलसी खोलेर विदेशी सुपारी आयात गर्ने बाटो खुला गरेकाले स्वदेशी सुपारीले बजार पाउन मुस्किल पर्ने गरेको छ ।

सुपारी उत्पादनका हिसावले झापा निकै अगाडि छ । यहाँको २ हजार ७ सय ७० हेक्टरमा गरिएको खेतीबाट गत वर्ष १० हजार ४ सय १२ मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रको आँकडा छ । झापामा मात्र दशहजार बढी किसान व्यवसायी सुपारी खेतीमा आबद्ध छन्। 

ती किसानले हाल काँचो सुपारीको मुल्य ३० देखि ४० रुपैयाँ पाउने गरेका छन्। तर, व्यवसायीहरु भने सरकारी तथ्यांकभन्दा धेरै बढी सुपारी उत्पादन हुने गरेको र यहाँबाट अहिले पनि लुकाइछिपाइ भारत पुर्‍याउने प्रवृत्ति नरोकिएको दाबी गर्छन् ।

नेपालमा मुख्यतः भारत, इन्डोनेसिया, मलेसिया र म्यानमारबाट सुपारी आयात हुने गरेको छ। यो आर्थिक वर्षको चैत सम्ममा काकरभिट्टा नाकाबाट मात्र २ लाख ८६ हजार ७९० केजी सुपारी आयात भएको भन्सार विभागको तथ्यांक छ । यसबाट ४ करोड ८६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यलयले जनाएको छ । 

यस्ता आयातित सुपारीको प्रयोग र पुनः निर्यातले अवैध व्यापारलाई थप बल पुगेको छ। अझ सीमावर्ती क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न नसक्दा राज्यले वार्षिक करोडौं राजस्वसमेत गुमाइरहेको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।