मोरक्कोको विश्वकप यात्रा थप सशक्त बन्दै

वैशाख २०, २०८३ |सुवास रोकाया
मोरक्कोको विश्वकप यात्रा थप सशक्त बन्दै

काठमाडौं । विश्व फुटबलमा आफ्नो उपस्थिति निरन्तर बलियो बनाउँदै अघि बढिरहेको मोरक्को फिफा विश्वकप २०२६ का लागि उत्साहित छ । 

कतार विश्वकप २०२२ को ऐतिहासिक सेमिफाइनल यात्राले दिएको आत्मविश्वास र पुस्तान्तरण हुँदै गएको प्रतिभाशाली टोली संयोजनले मोरक्कोलाई फेरि एकपटक विश्व फुटबलको केन्द्रमा उभ्याएको हो । आजको विश्वकप विशेषमा हामी "एटलस लायन्स" को चर्चा गर्नेछौं ।

मोरक्कोले २०२६ मा लगातार तेस्रो र समग्रमा सातौँ पटक फिफा विश्वकपमा सहभागिता जनाउँदै छ । उत्तर अमेरिकाको भूमिमा आयोजना हुन लागेको यो विश्वकपमा "एटलस लायन्स" ले कतार २०२२ मा प्राप्त सफलतालाई आत्मासाथ गर्दै थप सशक्त नतिजा हात पार्ने लक्ष्य राखेको छ ।

कतार २०२२ मा इतिहास रचेका प्रशिक्षक वालिद रिग्रागुईलाई प्रतिस्थापन गरेका मोहमेद ओउहबीले यस विश्वकपमा मोरक्कोको टचलाइन सम्हाल्ने छन् । रिग्रागुईको नेतृत्वमा मोरक्कोले सन् २०२२ को कतार विश्वकपमा अफ्रिकी फुटबलको इतिहास नै बदलिदिएको थियो । 

उ पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने अफ्रिकी राष्ट्र बनेको थियो । यस यात्रामा उसले बेल्जियमलाई २-० ले पराजित गर्दै सनसनी मच्चाएको थियो भने पोर्चुगललाई क्वार्टरफाइनलमा १-० ले हराएको थियो । स्पेनलाई पेनाल्टीमा पराजित गदै विश्व फुटबललाई नै चकित पारेको थियो ।

मोरक्कोले २०२६ को विश्वकप छनोटका लागि कठिन तर गौरवपूर्ण यात्रा तय गरेको थियो । अफ्रिकी छनोट चरणमा समूह ई को शीर्ष स्थानमा रहादै उ सबैभन्दा पहिले विश्वकप टिकट सुरक्षित गर्ने अफ्रिकी टोली बनेको थियो । नाइजरविरुद्धको ५-० को शानदार जितले उसको प्रभुत्व स्पष्ट पारेको थियो ।

इतिहासमा फर्किँदा, मोरक्कोले पहिलो पटक सन् १९७० मा विश्वकपमा प्रवेश गरेको थियो । मेक्सिकोमा भएको सो विश्वपमा अफ्रिकाको प्रतिनिधित्व गर्ने उ एक्लो टोली थियो । समूह चरणमै बाहिरिए पनि जर्मनी, पेरु र बुल्गेरियाविरुद्धको संघर्षपूर्ण प्रदर्शनले उनीहरूको साहस झल्काएको थियो ।

सन् १९८६ मा मोरक्कोले विश्व फुटबललाई चकित पार्दै नकआउट चरणमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बन्न सफल भयो । जर्मनीसँग अन्तिम क्षणमा १-० ले पराजित हुँदै बाहिरिएको थियो । सन् १९९८ मा फ्रान्स विश्वकपमा मोरक्कोले आफ्नो सबैभन्दा ठूलो जित हासिल गर्‍यो । 

स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै उसले आफ्नो क्षमता पुनः प्रमाणित गरेको थियो । यद्यपि, त्यो उत्कृष्ट जित पनि नकआउट चरणमा पुग्न पर्याप्त भएको थिएन । मोरक्कोले हाल सम्म १९७०, १९८६, १९९४, १९९८, २०१८ र २०२२ को फिफा विश्वकप खेलिसकेको छ । 

हाल फिफा वरियताको आठौं स्थानमा रहेको मोरक्को २०२६ विश्वकपका लागि निकै उत्साहित छ । मोरक्कोका लागि अस्रफ हकिमी र हाकिम जियेचले विशेष भूमिका खेलेका छन् । दुवैले विश्वकपमा समान १०-१० खेल खेल्दै नयाँ कीर्तिमान बनाएका छन । 

स्ट्राइकर युसुफ एन-नेसिरी भने मोरक्कोका सर्वाधिक गोलकर्ता हुन् । विश्वकपमा हालसम्म ३ गोल गरिसकेका युसुफले कतार विश्वकपमा पोर्चुगलविरुद्धको ऐतिहासिक गोल गरेका थिए । २०२६ फिफा विश्वकपमा समूह सीमा रहेको मोरक्कोले १४ जुनमा ब्राजिल, २० जुनमा स्कटल्यान्ड र २५ जुनमा हाइटीसंग प्रतिस्पर्धा गर्नेछ ।

२०३० को विश्वकप सह-आयोजना समेत रहेको मोरक्कोले के २०२२ को इतिहास दोहोर्याउला वा त्योभन्दा पनि उत्कृष्ट नतिजा हात पार्ला ?


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।