दाङको धानखोला-लमही सडक खण्डको निर्माण सुरू

अत्याधुनिक एफडीआर प्रविधिमा निर्माण हुने
वैशाख १६, २०८३ |अमर क्षितिज भण्डारी
दाङको धानखोला-लमही सडक खण्डको निर्माण सुरू

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो दाङको धानखोला-लमही सडक खण्डको निर्माण सुरु गरिएको छ । 

अन्तराष्ट्रिय मापदण्ड र अत्याधुनिक प्रविधिको प्रयोगबाट नेपालमा पहिलो पटक बन्न लागेको यो सडक खण्डको निमार्णले लुम्बिनी प्रदेश राजधानी क्षेत्रको सडक सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरिएको छ । निमार्ण कम्पनीले समयमै काम सम्पन्न गर्ने दाबी गरेको छ भने स्थानिय पनि उत्साहित बनेका छन् ।

पाँच वर्ष अघि निमार्णको योजना बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा बुधबारदेखि सुरु भएको हो। शिलान्यास गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको बताउनु भयो।

अन्तराष्ट्रिय मापदण्ड र अत्याधुनिक एफडीआर प्रविधिको प्रयोगबाट नेपालमा पहिलो पटक बन्न लागेको आयोजना १२ मिटर चौडाइ कायम गरिएको छ भने दिर्घकालसम्म मर्मत गर्नु नपर्ने गरी सडक निर्माण गर्न लागिएको दातृ निकाएको दाबी छ ।

लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा निर्माण गरिने यो आयोजना आफूहरुका लागि पनि महत्वपूर्ण रहेका कारण सबैको साथ सहयोगबाट निर्धारित मितिमै गुणस्तरीय रूपमा सम्पन्न हुने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । सडक निर्माणपश्चात् ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको दाबी गरिएको छ । 

प्रदेश राजधानी क्षेत्रमा निर्माण गर्न थालिएको सडक निर्माणले स्थानिय स्तरमा उर्जा थपिएको छ भने गणस्तरीय काम निर्धारीत समयमै सम्पन्न हुनेमा स्थानिय आशावादी रहेका छन् । सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आहृवान भएको आयोजनाको निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा-कुमार जेभीले पाएको हो। 

गत पुस ७ गते एमसिए-नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर-करिब तीन अर्ब रुपैयाँमा आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।