जग्गा सरकारको भए, हामी कसका ?

वैशाख २०, २०८३ |प्रकाश बम
जग्गा सरकारको भए, हामी कसका ?

काठमाडौं । सरकारले काठमाडौंका नदी किनारका अनधिकृत संरचना खाली गर्न भन्दै डोजर चलाएको आज ९ दिन भइसकेको छ । 

कतिपय स्थानमा बस्तीका बासिन्दा आफैंले घर भत्काइरहेका छन् । सहकर्मी प्रकाश बम कपनको पाथीभरा टोलमा पुग्दा उनीहरू पनि आफैं घर भत्काइरहेका देखिए । उनीहरूको प्रश्न छ- जमिन सरकारको हो भने हामी कसका हौं ।

वर्षौंको मिहिनेतबाट बनाएको घर । तर, आज आफ्नै हातले भत्काइरहेका थिए उनीहरू । कोही सामान ओसारिरहेका थिए । बस्तीमा त्रासको माहोल थियो । आइतबार अपराह्न ३ बजेतिर हामी कपनको थकाली टोल पुग्दा भेटिनु भयो विनु दर्जी । श्रीमान गुमाएको ६ महिनामै उहाँले आश्रयसमेत गुमाउनुभयो, जहाँ उहाँ भित्रिनु भएको थियो । 

गर्भवति बुहारी लिएर कहाँ जाने ठेगान छैन । हामी बस्तीमा पुग्ने बित्तिकै तत्कालीन कपन गाविसले दिएको पत्र बोकेर आइपुग्नुभयो सन्चमाया राई । गाविसले २०५६ सालमा दिएको पत्रमा बसोबास प्रमाणित गरिएको थियो । उहाँको प्रश्न थियो-जग्गा सरकारको हो भने हामी कसको ?

सरकारले घर खाली गर्न सूचना त जारी गर्यो । तर, कोठा पाउन मुस्किल छ । पहिला कोठा दिन्छु भन्नेहरू सुकुम्बासी बस्तीबाट भनेपछि हच्कने गरेको उनीहरुको दु:खेसो छ । उनीहरूलाई भय छ- भोलि सरकारले व्यवस्थापन गरेको स्थानमा हामीलाई त्यहाँका समाजले नस्वीकार्ने हो कि ?

आफैं घर भत्काउनुको पीडा त असीमित छ । बस्तीका सबैको गुनासो छ- हामी हट्न तयार थियौं तर सरकारले पर्याप्त समय दिएन । हामीलाई विस्थापन होइन व्यवस्थापन गर्नुपर्थ्यौ । कपनको पाथीभरा टोलमा १ सय ५६ वटा घर छन जहाँ विभिन्न जिल्लाबाट आएकाहरू बसोबास गर्दै आएका थिए । 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।