यूएईको मिश्रित प्रदर्शन: नेपालसँग हार, ओमानमाथि क्लिन स्विप

वैशाख २०, २०८३ |सुवास रोकाया
यूएईको मिश्रित प्रदर्शन: नेपालसँग हार, ओमानमाथि क्लिन स्विप

काठमाडौं । यूएईले मिश्रित नतिजा हात पार्दै आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल भ्रमण समाप्त गरेको छ । 

आइतबार सम्पन्न खेलमा ओमानलाई ५४ रनले पराजित गरेको यूएईले यस त्रिकोणात्मक सिरिजमा २ जित र २ हारको सामना गर्यो । उसले नेपालविरूद्धका दुबै खेलमा हारको सामना गर्यो भने ओमानविरूद्धका दुवै खेलमा जित हात पार्यो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको भिजेको आउटफिल्डका कारण केही ढिला सुरू भएको खेल ४७ ओभरमा घटाइएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७ ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रनको विशाल योगफल तयार पारेको थियो । 

उसका शीर्ष क्रमका चार ब्याटरले अर्धशतकीय इनिङ्स खेले । ओडीआईमा आईसीसीका एसोसियट टोलीका ब्याटरले पहिलो पटक यो उपलब्धी हासिल गरेका हुन् । पहिलो विकेटका लागि आर्यन्स शर्मा र अदिब उस्मानीले १ सय ११ रनको साझेदारी गरे । 

आर्यन्स शर्मा ५० रनमा आउट भए । उस्मानीले ७२ रनको योगदान दिए । तेस्रो विकेटका लागि हरप्रीत सिंह र मोहम्मद शाहदादले १ सय २३ रनको अर्को शतकीय साझेदारी गरे । हरप्रीत ७७ र शाहदादले ७४ रनको अर्धशतकीय योगदान दिए । 

ओमानका लागि मोहम्मद इमरानले ३ र नदीम खानले २ विकेट लिए । ३ सय ९ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले ३९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि हम्माद मिर्जाले ८३ रन बनाए । 

रामानन्दीले अविजित ९१ रनको उत्कृष्ट इनिङ्स खेलेपनि अर्को एन्डबाट साथ पाउन नसक्दा शतक बनाउनबाट ९ रनले चुके । ओमानलाई रोक्न जुनैद सिद्दिकीले पाँच विकेट हाल पुरा गरे । उनले ७ ओभर ५ बल बलिङ गर्दै ४९ रन खर्च गरेर ६ विकेट लिए । 

यो उनको करियरकै उत्कृष्ट बलिङ फिगर हो । यससँगै २४ खेलमा १४ अंक जोडेको यूएई लिग टूको पुछारमै छ भने २७ खेलमा ३१ अंक जोडेको ओमान तेस्रो स्थानमा यथावत् छ । यस त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा मंगलबार नेपाल र ओमान प्रतिस्पर्धा गर्ने छन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।