विदेश होइन, गाउँमै सम्भावना : हरि जीसीको कृषि क्रान्तिले बदलियो निमुरिया

वैशाख १८, २०८३ |अमर क्षितिज भण्डारी
विदेश होइन, गाउँमै सम्भावना : हरि जीसीको कृषि क्रान्तिले बदलियो निमुरिया

दाङ । धेरैलाई लाग्छ स्वदेशमा केही हुँदैन, रोजगारी छैन। तर, केही यस्ता युवाहरू पनि छन् जसको दृढ इच्छाशक्ति र निरन्तरको मिहिनेतले आफूमात्रै होइन अरूलाई पनि रोजगारी दिइरहेका छन्। 

तिनैमध्येका एक उद्यमशील युवाको नाम हो हरि जीसी। दाङको घोराही-२ मा जग्गा भाडामा लिएर खेती गरी जीसी स्वरोजगार त बन्नुभएको छ नै अरू ४० जनालाई रोजगारीसमेत दिनुभएको छ। 

दाङको घोराही २ निमुरियाका स्थानीय असार-साउनमा मुस्किलले १ महिना र धान भित्र्याउने बेलामा १ महिना काममा खटिन्थे । बाँकी समय धेरैजसो उनीहरू केही पनि काम पाउँदैनथे । काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। 

अहिले भने दृष्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसायिक कृषि फार्मले स्थानीयलाई काम दिँदा घरव्यवहार चलाउनसमेत सहज बनेको छ। घोराही उपमहानगरपालिका-२ निमुरियामा युवा हरि जीसीले ७ वर्ष अघिदेखि सञ्चालन गर्दै आउनुभएको फार्ममा अहिले दैनिक ४० जनाभन्दा बढिले काम पाएका छन् । 

फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतको काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरूसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन् । ७ वर्षअघि ७ कठ्ठा जग्गाबाट सुरु भएको जीसीको तरकारी खेती अहिले १४ बिगाहामा फैलिएको छ । 

आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर जीसीले व्यवसायी तरकारी खेती गर्दै आउनु भएको छ । वार्षिक दुई करोडको कारोबार गर्ने जीसी कामदारहरूको ज्यालामा मात्रै झन्डै १ करोड वार्षिक खर्च गर्नुहुन्छ । जीसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काक्रा, गोपीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ। 

उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि छ। 


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।