धनकुटा नगरपालिकाद्वारा बाह्यस्थलमा गरिने विज्ञापनमा कडाइ

वैशाख ९, २०८३ |विनोद घिमिरे
धनकुटा नगरपालिकाद्वारा बाह्यस्थलमा गरिने विज्ञापनमा कडाइ

धनकुटा । धनकुटा नगरपालिकाले बाह्यस्थलमा गरिने विज्ञापनमा कडाइ गरेको छ । 

नगरपालिकाले 'विज्ञापन ऐन २०८२' जारी गर्दै बाह्य विज्ञापनलाई नियमन सुरू गरेको हो । नगर क्षेत्रभित्र हुने बाह्य विज्ञापनलाई व्यवस्थित गर्दै करको दायरामा ल्याउने र सौन्दर्य कायम गर्ने उद्देश्यसहित नयाँ व्यवस्था लागू गरेको जनाइएको छ । 

अब धनकुटा नगरपालिकाको स्वीकृति बिना होर्डिङ, साइन बोर्ड, ब्यानर वा अन्य प्रचार सामग्री राख्नपाइने छैन । नगरपालिकाका अनुसार होर्डिङ बोर्ड, साइन बोर्ड, निओन बोर्ड, विद्युतीय डिस्प्ले, स्क्रोलर बोर्ड, धातुका अक्षर, चलचित्र बोर्ड, ब्यानरलगायतका प्रचार सामग्री राख्न अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ ।

बाह्य विज्ञापन गर्न चाहने व्यक्ति, विज्ञापन एजेन्सी, व्यावसायिक प्रतिष्ठान तथा सवारीसाधनमा विज्ञापन गर्न चाहनेले डिजाइन, स्थान र अवधिसहितको विवरण संलग्न गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ । भेला, सम्मेलन, कन्सर्ट, खेलकुद प्रतियोगिता, मेला-महोत्सव जस्ता कार्यक्रमको प्रचारका लागि पनि पूर्वस्वीकृति अनिवार्य गरिएको श्रेष्ठले बताउनुभयो । 

धनकुटा नगरपालिकाका उपसचिव सिताराम गौतमले नियमविपरीत विज्ञापन गर्ने व्यक्ति वा संस्थालाई कसुरअनुसार अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने बताउनुभयो । यसअघि धनकुटा नगरपालिकाले विज्ञापन करबापत वार्षिक करिब ५ लाख रूपैयाँ राजस्व संकलन गर्दैआएको थियो । नयाँ ऐन कार्यान्वयनससँगै यो रकम वृद्धि हुने अपेक्षा छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।