
रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम र आसपासका बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएको छ।
आधा सिलिन्डर त्यो पनि मागअनुसार नपाउँदा उपभोक्ताहरु मारमा परेका छन्। रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगा बजार र आसपासमा खाना पकाउने एलपी ग्यासको अभाव भैरहेको छ। पश्चिम एसिया युद्धका कारण ग्यास अभाव हुँदा सबैले पाउन भनेर गत चैतदेखि सरकारले उपभोक्तालाई आधा सिलिन्डर ग्यास वितरण गर्दै आइरहेको छ।
जसका कारण यहाँको माग र आपूर्ति बीचको तालमेल नमिल्दा अभाव चुलिँदै गएको हो। एउटा सिलिन्डरमा पूरा ग्यास हुँदा १४ किलो २ सय ग्राम हुन्छ। अहिले आधा हुँदा ७ किलो १ सय ग्राम छ। रुकुम पश्चिममा चैतअघि प्रतिमहिना ५ हजार ८ सय सिलिन्डर आउथ्यो भने अहिले मुस्किलले ४ हजार ९ सय ५० सिलिन्डर आइरहेको थोक बिक्रेताको तथ्यांक छ।
जवकी यहाँको माग पूरा गर्न आधा वाला सिलिन्डर ५ हजार ८ सयको दाेब्बर अर्थात् ११ हजार ६ सयवटा आउनुपर्छ । सोझो हिसाब गर्ने हो भने अहिले यहाँ एक महिनामा ६ हजार ६ सय ५० वटा आधा सिलिन्डरको आपूर्ति कम भैरहेको छ । परिणमतः अभाव हुँदा उपभोक्ताहरु मारमा परेका छन् भने सदरमुकामका केही होटेल तथा रेष्टुरेन्ट समेत ग्यास अभावकै कारण बन्द गर्नुपर्ने अवस्था आएको छ ।
चैतपछि सुरुका दुई महिना खासै अभाव नदेखिएको भए पनि गत जेठदेखि सुरु भएको ग्यासको अभाव अहिले चरम अवस्थामा पुगेको छ । कुनै थोक विक्रेताकहाँ ग्यासको ट्रक आएको थाहा पाउने वित्तिकै उपभोक्ताहरु लाइन लाग्ने गरेका छन् र सिलिन्डर तानातान हुने गरेको छ ।
एकपटकमा एउटा ट्रकले ५ सय ५० वटा सिलिन्डर बोक्ने गरेको छ । सिलिन्डरमा आधा वा भरी ग्यास हुँदा पनि गाडी भाडा अनि लोड-अनलोडको मूल्य उही हुने गरेका कारण यतिबेला रुकुम पश्चिम जस्ता पहाडी जिल्लाहरुमा ग्यासको माग उस्तै भए पनि आपूर्ति कम भैरहेको छ ।
रुकुम पश्चिमको जिल्ला सदरमुकामा हाल आधा सिलिन्डर ग्यासको होलसेल मुल्य १ हजार ८० र खुद्रा मुल्य ११ सय रहेको छ । यस विषयमा कहीँकतै कुनैप्रकारको कमी-कमजोरी पो भएको छ की भनेर हेर्नेदेखि ग्यासको आपूर्तीलाई सहज बनाउने काममा स्थानीय प्रशासनले सकेको कोसिस गरिरहेको बताएको छ ।
आधा सिलिन्डर ग्यास दिँदा पनि उपभोक्ताले यसको किफायत नग रेको र आपूर्ति काम हुँदा पनि माग भने साविककै अस्थामा रहँदा अभाव चुलिएको छ । यो समस्या समाधानका लागि ग्यासको सहज आपूर्तिमा सरकारले ध्यान दिनैपर्छ।