अधुरो बबई आयोजना : किसान अझै आकासेपानीकै भरमा

असार २६, २०८३ |कमल पन्थी
अधुरो बबई आयोजना : किसान अझै आकासेपानीकै भरमा

बर्दिया । ३७ वर्षअघि निर्माण सुरु भएकाे एउटा आयोजना अहिले पनि अधुरै छ । 

सुन्दा अचम्म लाग्ने तर नेपालको विकास निमार्णको तितो सत्य यहि हो । बर्दीयाको बबई सिँचाइ आयोजना निमार्ण सुरु भएको ३७ वर्षमा पनि पूरा हुन नसक्दा किसान आकासेपानीको भरमा खेती गर्न बाध्य छन् ।

३६ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको राष्ट्रिय गौरवको यो आयोजनाको काम आर्थिक वर्ष ०८५/०८६ भित्र सक्नुपर्नेछ । बबई सिँचाइ आयोजनाको मुल नहरको काम २०५१ सालबाट सुरु भएको थियो । अहिले ३७ वर्षपछि बल्ल पश्चिम मुल नहर निर्माणको भइरहेको छ ।

३४ किमि पूर्वी मुल नहर सम्पन्न भएपछि पश्चिमी मुल नहरको काम सुरु भएको हो । आयोजनाको काम पूरा भएपछि बर्दिया जिल्लाको पूर्वतर्फ २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ । ढिलो भए पनि काम सुरु हुँदा स्थानीय भने खुसी छन् ।

आयोजनाको काम समयमा नहुँदा किसानले पम्पबाट सिँचाइ गर्न बाध्य छन् । जसका कारण यस वर्ष मनसुनी वर्षा ढिलो भएकाले रोपाइँ प्रभावित भएको हो । पूर्वी मुलनहर ३४ किमि मुल नहरको काम पाँच वर्षअघि सम्पन्न भइसकेको छ । पश्चिम मुल नहर करिब ४१ किलो मिटरमध्ये अहिलेसम्म २८ किलोमिटर सम्पन्न भइसकेको छ । 

पश्चिम मुल नहरको १३ किलोमिटर निर्माणको काम भइरहेको छ । भेरी बबई डाइभर्सन सम्पन्न नभएसम्म बाह्रै महिना सिँचाइ सुविधा पुराउन नसक्ने आयोजनाले जनाएको छ । एउटा आयोजना ३७ वर्षसम्म पनि पूरा नहुनु विकास निमार्णमा राष्ट्रिय गौरव नभइ राष्ट्रिय लज्जाको विषय हो ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।