
पाल्पा । पाल्पाको रिब्दीकोटमा स्थानीयको स्वरोजगारको प्रमुख आधार कृषि र पशुपालनलाई प्रोत्साहन गरिएको छ।
यो पालिकाबाट तीन वर्षअघि २३ करोड ६० लाख रुपैयाँको कृषि र पशुउपज बिक्री भएकोमा अघिल्लो आर्थिक वर्षमा यो रकम झन्डै ४१ करोड पुग्यो। रिब्दीकोट कृषि परियोजना सञ्चालन भएपछि किसान तरकारी, फलफूल, पशुपालनमा व्यावसायिक बन्दैगएका हुन्।
रिब्दीकोट गाउँपालिका-७ की सीता कुँवरले यस सिजनमा ५ लाख रुपैयाँको काँक्रोमात्रै बिक्री गर्नुभयो। दुईटा गाई, दुईटा भैासी पाल्नुभएकी सीताले दैनिक ५० लिटरभन्दा धेरै दूध बिक्री गर्नुहुन्छ। त्यस्तै विदेशबाट फर्केका रिब्दीकोट गाउँपालिका-८, का युवा भीमबहादुर राउत एकै सिजनमा कम्तीमा ५ लाखको तरकारी बिक्री गर्नुहुन्छ।
दुईटा भैंसी पाल्नुभएका भीमबहादुरले अकबरे खुर्सानीसँगै विभिन्न तरकारीबाट विदेशभन्दा राम्रो कमाइ गर्नुभएको छ। रिब्दीकोटका आठै वडामा कृषि र पशुपालनमा पछिल्लो चार वर्ष गाउँपालिकाले लगानी बढाएसँगै किसानको जीवनस्तर सुधार हुँदैगएको छ ।
यो गाउँपालिकाबाट किसानले अघिल्लो आर्थिक वर्षमा अकबरे खुर्सानी बचेर ८ करोड, सुन्तला ५ करोड, गोलभेाडा ६ करोड बढी, लहरेबालीका साथै अन्य तरकारी, काँक्रो, खसीबोका र दूध बिक्रीबाट १५ करोडभन्दा बढी आम्दानी गरे ।
उत्पादन बढाउन आठै वडामा समूहमार्फत लगानी गरिएको छ भने वडा-वडामा पकेट क्षेत्र बनाइएको छ । किसानलाई मल, बीउ, मल्चिङ प्लाष्टिक, गाईभैंसी, बाख्राखोर निर्माण, टनेलमा गाउँपालिकाले अनुदानसँगै उत्पादनमा आधारित अनुदान वितरण गर्दैआएको छ ।
यो परियोजनामा पालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पासँग साझेदारी गरेको छ । पछिल्लो चार वषयता हरेक आर्थिक वर्षमा कम्तीमा ४ करोड बजेट कृषि तथा पशुपालनमा लगानी भएको छ । टनेलभित्र तरकारी खेती गर्नुका साथै वन्यजन्तुले दुःख दिएपछि गाउँपालिकामा अकबरे खुर्सानी खेतीलाई जोड दिइएको छ ।
पछिल्लो तीन वर्षमा १ हजार २ सय रोपनीभन्दा बढी बाँझो जग्गाको उपयोग भएको छ । गाउँपालिकाको कुसुमखोलामा जैविक मल कारखाना स्थापना भएको छ । युवा, महिला परिचालन गरेर सहकारीमार्फत बजार व्यवस्थापन भइरहेको छ । हरेक किसानले मासिक कम्तीमा २० देखि २५ हजार आम्दानी गर्नसक्ने क्षमता विकास गरेको दाबी गाउँपालिकाको छ।