काठमाडौं । नेपालमा केराको मूल्य आकासिएको छ।
भारतबाट आउने केरा ठप्प भएपछि बजारमा स्वदेशी केराको माग बढेको छ तर मूल्य अचाक्ली चुलिँदा भने उपभोक्ता मारमा परेका छन् । केराको भाउ बढ्दा किसानलाई लाभ हुनुपर्ने हो तर, अपेक्षित फाइदा भने पाएका छैनन् । आखिर केराको भाउ बढ्दा फाइदा कसलाई भइरहेको छ ?
थोरै लगानी, कम मेहनत र राम्रो आम्दानीको आशामा दाङका ५० जनाभन्दा बढी किसानले धानखेती छाडेर झन्डै ६ सय विगाहामा केरा लगाएका छन्। तर, ६ महिनाअघि मूल्य नपाउँदा खेती छाड्ने कि भन्ने दोधारमा थिए। अहिले भने बजारमा भाउ र माग दुवै बढेपछि उनीहरूले केही राहत महसुस गरेका छन्।
सरकारको निर्णय कार्यान्वयन भएको मान्ने हो भने वैधानिक रूपले भारतबाट नेपाल आउने केरा अहिले ठप्प छ। जसकारण कुनै बेला केरा बेच्न हात जोड्दै व्यापारी कहाँ पुग्ने किसानका बारीमा अहिले व्यापरीहरू आफैं पुगिरहेका छन्। यसले आन्तरिक बजारमा केराको मूल्य ह्वात्तै बढेको छ।
चितवनमा अहिले मालभोग केरा खुद्रा मूल्य डेढ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर, मूल्य बढेको अनुपातमा किसानले भने फाइदा पाएका छैनन् । बजारमा केराको मूल्य बढेको अनुपातमा किसानहरूसम्म त्यसको लाभ पुग्नसकेको देखिँदैन। किसानले बेच्ने मूल्य र उपभोक्तासम्म जाँदाको मूल्य हेर्दा ठूलो अन्तर छ।
आयात रोकेर स्वदेशी उत्पादनको उपभोक्ता मूल्य अत्यधिक बढाउने खेलमा बिचौलिया लागेको किसानहरूको आरोप छ। केराको आन्तरिक उत्पादनले ६० देखि ७० प्रतिशत्सम्म मात्रै माग धान्ने हुँदा अहिले बाँकी मागको आफूर्ति कसरी भइरहेको छ भन्ने प्रश्न पेचिलो छ।
विराटनगरमा दुई महिनाअघिकै भाउ प्रतिदर्जन ८० देखि एक सय रुपैयाँ दर्जनमा केरा किनबेच भइरहँदा पटके व्यापारीले अवैध तरिकाले भारतबाट केरा ल्याइरहेका छन् भने आशंकलाई बल दिन्छ। सबैभन्दा धेरै केरा खेती हुने चितवनमा ७१० जना किसानले ३ हजार बिघामा केराखेती गरेका छन्।
त्यहाँ वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने वार्षिक साढे २ अर्ब रुपैयाँको कारोबार हुने गरेको छ। मोरङ, नवलपरासी, रूपन्देही, कपिलवस्तु दाङ कैलालीलगायतका जिल्लाको २७ हजार २६१ हेक्टरमा ४ लाख टन केरा उत्पादन हुने गरेको छ।
यो उत्पादनले कुल मागको ६० देखि ८० प्रतिशत धान्ने गरेको छ भने बाँकी भारतीय बजारको भर पर्नुपर्ने देखिन्छ। अहिले भारतबाट केरा आउन बन्द भएपछि माग र आपूर्ति श्रंखला गडबड हुँदा उपभोक्ता मूल्य चुलिएको हो। उपभोक्ता मूल्य बढेअनुसार किसानले फाइदा नपाए पनि पहिले यत्तिक्कै बगानमा फ्याँक्नुपर्ने केरा भने हाताहात बिकेको छ।
आयातमा निर्भर बजार र कमजोर मूल्य नियन्त्रणका कारण केराको मूल्य अस्वाभाविक रूपमा बढेको देखिन्छ। तर, स्वदेशी उत्पादनले बजार माग धान्ने हो भने नेपालमा अझै ४० लाख केरा रोप्नु पर्नेछ भने बगानदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलामा सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ।