रेलवेमा खर्चको भारी, आम्दानी कमजोर : तीन वर्षमा ४५ करोड घाटा

भाद्र १३, २०८३ |अनिल मिश्र
रेलवेमा खर्चको भारी, आम्दानी कमजोर : तीन वर्षमा ४५ करोड घाटा

धनुषा । नेपालको एक मात्र जनकपुर–जयनगर रेलवे सेवा सञ्चालन गरिरहेको नेपाल रेलवे कम्पनी गम्भीर आर्थिक सङ्कटमा छ । 

आम्दानीभन्दा साढे तीन गुणा बढी खर्च छ । आम्दानीभन्दा बढी खर्च हुनुमा कर्मचारीको तलब तथा सेवा सुविधालाई नै उच्च खर्च देखाइएको छ । रेलवेको यस्तो दुरावस्थाका बीच पनि कर्मचारीहरूले टिकट बिक्रीमा भ्रष्टाचार गर्दै आएको खुलेको छ ।

आम्दानीले खर्च धान्न नसकेपछि सरकारको जमानीमा पाँच प्रतिशत ब्याजमा ऋण लिँदै आएको कम्पनीमाथि २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित ७९ करोड चार लाख २६ हजार रुपैयाँभन्दा बढी ऋण छ ।

भारतसँग एक अर्बभन्दा बढी लागतमा खरिद गरी डेमो रेल सेवा सञ्चालनमा आएको पाँच वर्ष बितिसकेको छ । नेपाल रेलवे कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा कुल १८ करोड ४२ लाख रुपैयाँ आम्दानी र कुल ६४ करोड २६ लाख रुपैयाँ खर्च हुँदा ४५ करोड ८४ लाख रुपैयाँ घाटा भएको छ । 

पहिलो वर्षमा दुई करोड ५४ लाख रुपैयाँ आम्दानी र ११ करोड रुपैयाँ खर्च, दोस्रो वर्षमा सात करोड ३८ लाख रुपैयाँ आम्दानी र २६ करोड ९९ लाख रुपैयाँ खर्च र तेस्रो वर्षमा आठ करोड ५० लाख रुपैयाँ आम्दानी र २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । 

यसले मासिक औसत आम्दानी ५१ लाख ५६ हजार देखाउँछ भने खर्च १ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ । टिकट बिक्री, वीरगञ्जको जग्गा तथा गोदाम, सटर भाडा र हाटबजारको ठेक्का नै यस रेल्वे कम्पनीको हाल आम्दानीका मुख्य स्रोत हुन् ।

अहिले जयनगर-जनकपुर-भङ्गाहासम्म चल्ने रेलमा प्रतिदिन करिब ४ हजारले यात्रा गरे पनि नेपाल रेलवे कम्पनीलाई वार्षिक १५ करोड २८ लाख घाटा हुने गरेको छ । भारतीय कर्मचारीको तलब भत्ता, रेलको मर्मत सम्भार, इन्धन र सरसफाइमा सबैभन्दा बढी खर्च छ ।

सुरुका दिनमा रेल चलाउन भारतबाट २६ जना जनशक्ति ल्याएकोमा अहिले पनि रेल चालक, स्टेसन मास्टर, प्राविधिकलगायतका २३ जना कर्मचारी कार्यरत छन् । कर्मचारीको तलबभत्ता, रेलको सरसफाइ र मर्मतसम्भारका नाममा नेपाल रेलवेले भारतीय कोंकन कम्पनीलाई वार्षिक २० करोड रुपैयाँ बुझाउँदै आएको छ । 

जबकी प्रबन्धक सञ्चालकसहित १ सय ४८ जना नेपाली कर्मचारीको वार्षिक तलब ५ करोडमात्रै छ । नेपाल रेलवेले न त भारतीय कर्मचारी घटाउन रणनीति बनाउन सकेको छ न त आम्दानी बढाउने उपाय नै खोजेको छ ।

अर्कोतर्फ टिकट बिक्रीबाट दैनिक करिब १ लाख ५० हजार आम्दानी हुने गरेकोमा तीन महिनायता रेलवेको आम्दानी बढेको छ। अहिले दैनिक साढे दुई लाखको हाराहारी आम्दानी हुन थालेको छ। तीन महिनाअघि नियुक्त भएका प्रबन्ध सञ्चालकले निगरानी बढाएपछि आम्दानीमा केही वृद्धि भएको कम्पनीको भनाइ छ। 

टिकट बिक्रीमा अनियमितता गरेको फेला परेपछि टिकट काउन्टरका दुई जना कर्मचारीलाई बर्खास्त गरिएको छ । हाल वार्षिक रुपमा हुँदै आएको खर्च हेर्दा आम्दानी मासिक २ करोड २५ लाखभन्दा बढी हुनुपर्छ । नोक्सानी घटाउन रेलवेले मालवाहक सहितको थप रेल चलाउनुपर्नेमा सरोकारवालाको जोड छ । 

कार्गो रेल चलाउन सके उद्योगी व्यवसायीलाई भारतबाट औद्योगिक कच्चा पदार्थ, कोइला, खाद्यानलगायतका सामानहरू आयातमा खर्च घट्ने र रेलवेले आम्दानी बढाउनसक्ने उनीहरूको तर्क छ । विक्रम सम्वत १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो । 

रेलको लिक, पुलपुलेसालगायतको आठ वर्ष लगाएर स्तरोन्नति गरेपछि २०७८ चैत २० गतेदेखि पुनःसञ्चालनमा आएको रेल हाल ५२ किलाेमिटरमा कुद्छ । रेलवे कम्पनीमा देखिएको घाटा कम गर्न भारतीयको स्थानमा नेपाली कर्मचारीहरुक‍ो भर्ना, रेलवेक‍ो सम्पत्तिको रुपमा रहेको पोखरीहरु मत्स्य पालनका लागि ठेक्कामा लगाउने, व्यवस्थित सटर भाडा र रेललगायतका संरचनामा विज्ञापन गराउनका लागि सरकारी र निजी कम्पनीहरुलाई आकर्षित गर्नुपर्ने देखिन्छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।