
नेपालगञ्ज/प्यूठान । पछिल्लो समय किसानहरू व्यावसायिक फलफूल खेतीमा लागेका छन् ।
पहाडी जिल्ला प्यूठानमा ड्रागन फ्रुटको खेती विस्तार भइरहँदा बाँकेका किसान मेवा र अम्बाको बगैँचा विस्तारमा लागेका छन् ।
२०७८ सालबाट व्यावसायिक खेती सुरु गरेका प्यूठान नगरपालिका बिजुवारका नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङको बगैँचाबाट ड्रागन फ्रुट बजारमा जान थालिसकेको छ । इसान एग्रो फर्म दर्ता गरेर व्यावसायिक खेती थालेयता हरेक वर्ष फर्मबाट १० देखि १६ टनसम्म ड्रागन फ्रुट उत्पादन हुँदै आएको छ ।
झिमरुक गाउँपालिका बडाचौरका शंकर पोखरेलले पनि व्यवसायिकरूपमै ड्रागन फ्रुटको खेती गर्दै आउनुभएको छ । उहाँले २०७८ सालमा ४ सय बिरुवाबाट ड्रागन खेती सुरु गर्नुभएको थियो । उहाँको बगैँचाबाट अहिले वार्षिक ३ लाख रुपैयाँको ड्रागन फ्रुट बजारमा जाने गरेको छ ।
प्यूठानसँगै अर्घाखाँची र गुल्मीमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार भइरहेको छ । अहिले ड्रागन फ्रुट चार सय रुपैयाँदेखि ६ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ ।
उता बाँकेका किसान पनि धान गहुँ फलाउने खेतमा मेवा अम्बा लगाएर राम्रो आम्दानी गर्न थालेका छन् । एकपटक लगाएपछि लामो समय उत्पादन लिन सकिने भएकाले किसानलाई अन्न बाली लगाउनभन्दा फलफूल खेती गर्न सजिलो छ । खजुरा गाउँपालिका–२ का ७२ वर्षीय मोहन रिजालले गत वर्ष १० कठ्ठामा ५० हजार रुपैयाँ लगानी गरेर मेवा लगाउनुभयो ।
पहिलो वर्षमै मेवाबाट करिब २५ हजार रुपैयाँ मुनाफा लिन सफल भएपछि रिजाल उत्साहित हुनुभएको छ । रिजालका अनुसार १० कठ्ठामा धान लगाउँदा करिब १५ क्विन्टल उत्पादन हुन्छ । प्रतिक्विन्टल तीन हजारका दरले बेच्दा ३० हजार रुपैयाँ आम्दानी हुन्छ । तर, उत्पादन लागत, सिँचाइ, मल तथा श्रम खर्च कटाउँदा बचत कम हुने उहाँको अनुभव छ ।
खजुरा गाउँपालिका–२ कै सिर्जना खत्रीले एक बिघामा व्यावसायिक अम्बा खेती गर्नुभएको छ । मिहिनेत कम लाग्ने र नियमित आम्दानी लिन सकिने भएकाले आफूले अम्बा खेती रोजेको उहाँ बताउनुहुन्छ ।
बाँकेमा आँप, केरा, मेवा, अम्बा, कागती, ड्रागन फ्रुट, स्ट्रबेरीलगायतका फलफूलको खेती विस्तार हुँदै गएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १ हजार ३ सय हेक्टरमा फलफूल खेती हुन्छ । त्यसमध्ये सबैभन्दा बढी १ हजार १५ हेक्टरमा आँप लगाइएको छ ।
बजार व्यवस्थापन र उचित मूल्य सुनिश्चित गर्न सके फलफूल खेती किसानको आम्दानीको दिगो स्रोत बन्नसक्ने देखिन्छ ।