
मकवानपुर । चीन सरकारको सहयोगमा २०३२ सालमा निर्माण भई २०३५ सालबाट हेटौँडा कपडा उद्योगले उत्पादन सुरु गर्यो ।
२० करोड लागतमा बनेको उद्योग २२ वर्षसम्म लगातार चल्यो । उद्योग लगातार घाटामा सञ्चालन भएको भन्दै तत्कालीन मन्त्रिपरिषद्को निर्णयले २०५७ साल फागुन १ गतेदेखि यो उद्योग बन्द भएको थियो । बन्द भएको २६ वर्षपछि उद्योग पुनः सञ्चालनको तयारीमा उद्योग मन्त्रालय र नेपाली सेना जुटेको छ ।
खारेजीको सूचीमा रहेको उद्योग पुनर्जीवित गराउन उद्योग मन्त्रालयले नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयसँग रणनीतिक सहकार्य गरेको छ । नेपाली सेनाले उद्योगका ६ वटा जीर्ण तान मर्मत गरी प्रारम्भिक सफल परीक्षण उत्पादन गरेको छ ।
हेटौँडा कपडा उद्योगमा पाँच दशक पुराना प्रविधिका चार सय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् । यो उद्योग सञ्चालन हुँदा १२ सय कर्मचारीले रोजगारी पाएका थिए । पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो उद्योग सञ्चालन गर्न ८ करोड रुपैयाँ छुट्याएको थियो ।
त्यतिबेला ६ करोड रुपैयाँ खर्च गरेर उद्योगका सबै उपकरण मर्मत गरिएको थियो । उद्योगका उपकरण मर्मत गरी उत्पादन गर्न सकिने अवस्थामा पुर्याएपछि कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्थाका कारण २०६६ साल कार्तिकमा हेटौँडा कपडा उद्योगलाई दोस्रोपटक लिक्वीडेसनमा लैजाने निर्णय गरी प्रक्रिया अघि बढाइयो ।
कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ कपासको व्यवसायिक उत्पादन देशभित्रै हुन नसक्दा पटकपटक सरकार हेरफेर भएसँगै कहिले उद्योग लिक्वीडेसनमा लैजाने त केहिले सञ्चालन गर्ने निर्णय भइरह्यो । वर्तमान सरकारले उद्योग सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेट दिएर नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मा दिएको थियो ।
नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौंले उद्योग परिसर सरसफाइ गरी ६ वटा मेसिनको मर्मत गर्नुका साथै उद्योगको परिक्षण उत्पादन गरेको हो । नेपाली सेनाले दुई महिनाभित्र १२ वटा तान मर्मत गरी परीक्षण उत्पादनको रिपोर्ट दिएपछि सरकार वा सेना कसले उद्योग सञ्चालन गर्ने भन्ने निर्णय सरकारले गर्नेछ ।
उद्योगका उपकरण मर्मतका लागि सैनिक सामग्री उत्पादन निर्देशनालयका ४० जनाप्राविधिक र विभिन्न दर्जाका सैनिक खटिएका छन् । सरकारले गतअसार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो ।
सरकारको यो निर्णय सकारात्मक रहेको उद्योगका पूर्व कर्मचारीहरु बताउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने नीति बनाएपछि नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो ।
पटकपटक लिक्वीडेसनमा लगेको उद्योग पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने हो भने चीन सरकारसँग सहकार्य गर्नुपर्ने यहाँका उद्योगीहरु बताउँछन् । चिनियाँ प्राविधिकको सहयोमा उद्योगमा अहिले रहेका उपकरणलाई मोडीफाई गर्ने हो भने, प्रतिस्पर्धाका लागि सहज हुने उद्योगीहरुको बुझाइ छ ।
हेटौँडा कपडा उद्योगसँग १६६ रोपनी जग्गा र आवश्यक पूर्वाधार छन् । उद्योगका लागि आवश्यक कच्चापदार्थ कपास देशभित्रै खेती गर्न सके सेना वा उद्योग मन्त्रालय जसले सञ्चालन गरे पनि उद्योग सञ्चालन गर्न सहज हुनेछ । नेपाली सेना, प्रहरी र सरकारी कर्मचारीका लागि लत्ता कपडाको माग यहीँ उद्योगबाट परिपूर्ति हुने भएकाले बजारको समस्या रहँदैन। उद्यपि उद्योग सञ्चालनका लागि कुशल व्यवस्थापन भने आवश्यक रहन्छ ।