प्यूठान । गाउँमा आयआर्जनका कुनै पनि माध्यम छैनन् भन्दै रोजगारीका लागि भौतारिने प्रवृत्ति बढिरहँदा प्यूठानको मल्लरानी गाउँपालिका धनुवासको सिंगो गाउँ व्यवसायिक रुपमै बिउ उत्पादनमा जुटेको छ ।
आलु, सिमी लगायतको बिउ उत्पादनमा जुटेको सिंगो गाउँ अहिले त्यसैबाट मनग्य आम्दानी गर्न समेत सफल भएको छ । कुनै समय मल्लरानी गाउँपालिका घनुवास गाउँको परिचय फरक थियो । गाउँमा आलु, तरकारीजस्ता दैनिक भान्सामा प्रयोग हुने तरकारी पनि नजिकैको बजारबाट ल्याउने गरिन्थ्यो ।
गाउँका अधिकांश परिवारले परम्परागत र निर्वाहमुखी खेतीपाती गर्थे । बारीमा लगाउने गहुँ र मकैँले ६ महिनापनि खान पुग्दैन्थ्यो तर अहिले धनुवासको परिचय फेरिएको छ । गाउँका सबै घरले व्यवसायीक खेतीप्रणाली अपनाएका छन् । कुनै समय ताजा तरकारी समेत नहुने गाउँमा अहिले क्वीन्टलका क्वीन्टल आलु फल्छ । सिमी, आलु लगायतको बिउ उत्पादन गर्ने गाउँको परिचय धनुवासले बनाएको छ ।
पछिल्लो ३ वर्षयता धनुवासका किसान परम्परागत खेतीप्रणाली त्यागेर व्यवसायिक उत्पादनमा लागेका छन् । उद्यमशील कृषि समूह निर्माण गर्दै धनुवासका स्थानीयले सामूहिक खेती पनि गर्दै आएका छन् । गहुँ र मकै फल्ने बारीमा अहिले आलु, सिमी र प्याजको बिउ उत्पादन हुन्छ ।
किसान आफैंले पनि व्यवसायिक रूपमै आलु र सीमीको बिउ उत्पादनमा जुटेका छन् । आलु र सीमी बिउ बिक्रिबाट प्रतिकिसान ५० हजार रुपैयाँदेखि करिब २ लाख रुपैयाँसम्म आम्दानी किसानले गर्ने गरेका छन् । जीविकोपार्जनबाट उठेर आयआर्जनमा जुटेका धनुवासका किसान नियमित आम्दानीले खुसी छन् ।
आलु पकेट कार्यक्रम अन्तर्गत धनुवासमा गतवर्ष ८० क्वीन्टल आलु निर्यात भएको थियो । १५ घरधुरी बसोबास रहेको उक्त गाउँमा चालु आर्थिक वर्षमा १ सय ४० क्वीन्टल बिउ आलु तयार भएको छ । सीमी र राजमाको बिउ पनि धनुवासमा उत्पादनमा हुँदै आएको छ ।
मल्लरानी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गरेपछि व्यवसायिक कृषिमा लाग्ने किसानको संख्या पनि बढेको छ । जसले उत्पादन र आयआर्जन दुवै बढाएको तथ्यांकले देखाउँछ । स्वदेशमा केही छैन् भन्नेहरुका लागि परम्परागत खेती प्रणाली त्यागेर ब्यवसायीक कृषिमा लागेका धनुवासका किसानको कृषिकर्म प्रेरणाले गतिलो उदाहरण हुनसक्छ । बजारीकरणमा स्थानीय सरकारको साथ र किसानको जाागरले धनुवासको परिचय नै फेरिएको छ ।