श्रेयसको हातमा भारतीय टोलीको कमान, १५ वर्षीय वैभवकाे डेब्यू

जेष्ठ २३, २०८३ |खेल ब्युरो
श्रेयसको हातमा भारतीय टोलीको कमान, १५ वर्षीय वैभवकाे डेब्यू

काठमाडौं । श्रेयस अय्यर भारतीय टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तान नियुक्त भएका छन् । 

खराब फर्मका कारण सूर्यकुमार यादवलाई कप्तानको जिम्मेवारीबाट हटाइएको छ । आयरल्यान्ड र इङ्ल्यान्ड भ्रमणका लागि घोषणा गरिएको टोलीमा तिलक वर्मा उपकप्तान बनाइएका छन् भने १५ वर्षीय प्रतिभाशाली युवा ब्याटर वैभव सूर्यवंशीले पहिलोपटक स्थान पाएका छन् ।

पछिल्ला वर्षहरूमा आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै अय्यरले कोलकाता नाइट राइडर्सलाई २०२४ मा उपाधि जिताएका थिए भने २०२५ मा पञ्जाब किङ्सलाई फाइनलसम्म पुर्‍याएका थिए । यस्तै आईपीएल २०२६ मा ७ सय ७६ रन बनाउँदै रेकर्ड ७२ छक्का प्रहार गरेका वैभव सूर्यवंशीले 'ओरेन्ज क्याप', 'एमर्जिङ प्लेयर' र 'एमभीपी' अवार्ड जित्दै सनसनी मच्चाएका थिए। 

सूर्यवंशी भारतीय क्रिकेट टिममा छनोट हुने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । १५ वर्ष ७१ दिन उमेरका वैभव जुन-जुलाईमा आयरल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी-२० सिरिजका साथै सेप्टेम्बरमा हुने एसियाली खेलकुदका लागि छनोट भएका छन् । 

त्यस्तै, चोटका कारण बाहिर रहेका हर्षित राणाको टोलीमा पुनरागमन भएको छ। रवि विश्नोईलाई कुलदीप यादवभन्दा प्राथमिकता दिइएको छ भने रिंकु सिंहको स्थान सूर्यवंशीले लिएका छन् । जसप्रित बुमराहलाई विश्राम दिँदा प्रिन्स यादव टोलीमा समावेश भएका छन् । 

हार्दिक पाण्ड्या अझै पूर्ण फिट नभएकाले टी-२० टोलीमा समेटिएका छैनन् । सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने एसियन गेम्सका लागि पनि अय्यरकै कप्तानीमा टोली घोषणा गरिएको छ । उक्त प्रतियोगितामा बुमराहले बलिङ आक्रमणको नेतृत्व गर्नेछन् भने मोहम्मद सिराज र प्रिन्स यादव टोलीमा छैनन्। 

भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डसँग दुई टी-२० खेल्नेछ भने त्यसपछि जुलाई १ देखि ११ सम्म इङ्ल्यान्डविरुद्ध पाँच खेलको टी-२० आई सिरिज खेल्नेछ ।