.png&w=1000&height=550)
बागलुङ । उत्तर-दक्षिण जोडने गरि निर्माण भएको कालिगण्डकी कोरिडोरअन्तर्गत बागलुङ खण्डमा ट्रयाक खुलेको १२ वर्ष भइसक्दा समेत कालोपत्रे हुन सकेको छैन।
सडक पिच गर्न थप गरेको दोस्रोपटकको सम्झौताको समय सकिँदा समेत काम अधुरै छ । कालिगण्डकी कोरिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि बलेवाखण्डको १० किलोमिटर सडकको ट्रयाक खोलेको आर्थिक वर्ष २०७१/७२ मै हो। यो सडक पक्की गर्न निर्माण व्यवसायी र सम्बन्धित निकायको बेवस्ताले दुई पटकसम्म थप गरेको म्याद सकिँदासम्म पनि काम नहुँदा सडक प्रयोगकर्ता र स्थानीय मर्कामा परेका छन्।
नवलपरासीको गैडाकोटदेखि बागलुङको मालढुङ्गासम्मको दूरी २ सय ४० किलोमिटर छ । यस खण्डको बागलुङस्थित बलेवा-मालढुङ्गा सडकको लागि पहिलोपटक २४ महिनाको २०७९ मंसिर २९ गते र दोस्रो पटक २०८२ जेठ १७ गते १ वर्षको लागि म्याद थप गरिएको समय सकिादासमेत कालोपत्रे पूरा भएको छैन ।
४८ करोड १२ लाख ५६ हजार रुपैयाँमा १ हजार ३ सय मिटर ढलान र अन्य भाग कालोपत्रेको जिम्मा लिएको खडक कृष्ण विएन्ड जे.भी.को ढिलासुस्तीका कारण तोकिएको समयभित्र काम सम्पन्न गर्न सकेको छैन । यो सडकको अहिलेसम्म ९० प्रतिशत भौतिक र ७३ प्रतिशत वित्तीय प्रगति भएको दाबी गरिएको छ।
बागलुङ र जैमिनी नगरपालिका छोएर जाने सडक कालोपत्रेको लागि स्थानीय सरकारहरूले समेत पहल नगरेका होइनन् । राष्ट्रिय गौरवको आयोजना रुपमा रहेको कालिगण्डकी कोरिडोर मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङजा, पाल्पा, वुटवलका बासिन्दाका लागि मात्रै नभइ भारतीय तीर्थयात्रीका लागि समेत महत्वपूर्ण मार्ग हो ।
भारतको सुनौली नाकादेखि मुस्ताङको कोरला नाका जोडने गरी निमार्ण भइरहेको ४ सय १७ किलोमिटरको कालिगण्डकी कोरिडोर को यो खण्ड पक्की भएमा त्रिदेशीय आवागमन मार्ग बन्नेछ।