
काठमाडौं । कर छलीको आशंकामा सशस्त्र प्रहरीले मुस्ताङको कोरला र रसुवाको केरुङ नाकामार्फत नेपाल भित्रिएका ७ सय ७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि सरकारले घटनाको विस्तृत छानबिन अघि बढाएको छ ।
अर्थ मन्त्रालयले भन्सार प्रक्रियामा अनियमितता आशंकापछि भन्सार विभागका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित समितिले काम सुरु गरिसकेको विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । समितिले सम्बन्धित स्थानमै पुगेर सवारी साधन आयात तथा भन्सार जाँचपास प्रक्रिया कानुनका बारेमा अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा अन्य प्रकृया अघि बढ्ने महानिर्देशक भण्डारीले बताउनुभयो।
त्यसो त भन्सार जाँचपास प्रक्रियामाथि प्रश्न उठेपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराई जिम्मेवारीबाट हटाएर अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानालाई पठाइएको छ।
यता मुस्ताङको न्हेछुङस्थित भन्सार कार्यालय प्रमुख विदुर चुँडालले यही जेठ १२ र १३ गते ६ सय ४९ सवारीसाधनको भन्सार जाँचपास भएको दावी गर्नुभयो । चुँडालका अनुसार ती सवारी जेठ ९ र १० गते नै भन्सार यार्डमा आइपुगेका थिए । बुधबार रातिदेखि बिहीबार दिउँसोसम्म मुस्ताङ, म्याग्दी, पर्वत, कास्की, धादिङ र नुवाकोटका विभिन्न सडकखण्डबाट ती सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई जिम्मा लगाइने भट्टले बताउनुभएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आयात र भन्सार जाँचपासका क्रममा कागजातमा अनियमितता भएको सूचना प्राप्त भएपछि गृहमन्त्रालयको समन्वयमा सशस्त्र प्रहरीले निगरानी बढाएको थियो।
यता कोरला नाका हुँदै आयात भएको बीवाइडी गाडी आयात गर्ने सिमेक्स इन्कले प्रेस विज्ञप्ति जारी गर्दै भन्सार प्रक्रिया प्रचलित कानुन तथा नियामकीय व्यवस्था अनुसार नै सम्पन्न भएको दावी गरेको छ।
यसैबीच बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सवारीसाधनहरू नेपाल सरकारको प्रचलित कानुन, भन्सार नियमावली तथा स्थापित प्रक्रियाअनुसार आयात र भन्सार जाँचपास गरिएको दाबी गरेको छ।
कम्पनीले आज विज्ञप्ति जारी गरी कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिइएको तथा त्यस्तो सुविधा मागसमेत नगरिएको जनाएको छ।
साइमेक्सले मुस्ताङ भन्सार कार्यालयबाट ६४९ युनिट र रसुवा भन्सार कार्यालयबाट ४७२ युनिट सवारी भन्सार जाँचपास भएको जनाएको छ । यसका अतिरिक्त २२६ युनिट सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगे पनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको साइमेक्स इंकले जनाएको छ ।