तीन दशकको प्रतीक्षापछि गच्छे-भालुवाङ सडकमा कालोपत्रे, दुर्गम बस्तीमा विकासको आशा

जेष्ठ २२, २०८३ |रुद्रमणि भुसाल
तीन दशकको प्रतीक्षापछि गच्छे-भालुवाङ सडकमा कालोपत्रे, दुर्गम बस्तीमा विकासको आशा

अर्घाखाँची । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी कायम भएपछि प्रदेश राजधानी जोड्ने गच्छे ढिकुरा भालुबाङ्ग सडक निर्माण कार्यले गति लिनेमा अर्घाखाँचीका नागरिक आशावादी थिए। 

तर, प्रदेश र संघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउन नसक्दा झन्डै तीन दशकसम्म सडकको स्तरोन्नति हुन सकेन। चालु आर्थिक वर्षमा भने पाँच किलोमिटर पिच भएपछि स्थानीयमा आशा पलाएको छ। सडक निर्माण सम्पन्न भएपछि भालुवाङसम्मको यात्रा सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।

गच्छे ढिकुरा भालुबाङ्ग सडकमा कालोपत्रे गर्ने कार्य सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्। अहिले बिटुमिन महङ्गएिको समयमा समेत अमर निर्माण सेवाले अस्फाल प्रविधिबाट ५ किलोमिटर सडक कालोपत्रेको काम सकेको छ। अर्घाखाँचीका दुर्गम गाउँ सिद्धारा, जलुके र जुकेनाको मुहार फेर्ने आशागरिएको गच्छे-भालुवाङ सडक २०५६ सालदेखि नै निर्माण सुरु भएको हो। 

अर्घाखाँचीबाट भालुवाङ आउजाउ गर्न सन्धिखर्क-गोरुसिंगे सडक हुँदै कपिलवस्तुको पूर्व-पश्चिम राजमार्ग भएर हिँड्नुपर्ने बाध्यता छ । सन्धिखर्क-गोरुसिंगे-भालुवाङ १ सय २४ किलोमिटर दूरी छ। सन्धिखर्कबाट गच्छे- भालुवाङ सडक सम्पन्न भए ६६ किलोमिटर छ, जुन५८ किलोमिटर छोटो छ। सडकले विकट गाउँ जलुके, जुकेना, सिद्धारो स्थानीय उत्पादन बजार पुर्याउन सहज हुनेछ।

अर्घाखाँचीमात्रै नभइ लुम्बिनीका गुल्मी र पाल्पाबासीका लागि पनि प्रदेश राजधानी आउजाउ गर्न यो सडक उपयुक्त छ। धुलाम्मे र हिलाम्मे सडकको समस्या झेल्दै आएका स्थानीय सडक पिच हुन थालेपछि उत्साहित छन्। अहिले गच्छे-लामातालसम्मको काम अघि बढेको छ। 

बजेट न्यून नै छ । प्रदेश सरकारले गतवर्ष दुई आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे सक्नेगरी अमर निर्माण सेवा र खनाल बद्रर्स कन्ट्रक्सनले ठेक्का सम्झौता अनुसार काम चलिरहेको सडक पुर्वाधार विकास कार्यालय अर्घाखाँचीले जनाएको छ।

धनचौरको टोड्केदेखि जलुके-तामातालसम्म दुई वर्ष पहिला अमर निर्माणसेवाले २६ करोड रुपैयाँमा ३० किलोमिटरमा सडक ग्राभेल स्टक्चर र कटिङको काम सम्पन्न गरेको थियो । सडक विस्तार भएमा शीतगंगाको दुर्गम बस्तीले मुहार फेर्ने अपेक्षा गरिएको छ ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।