पश्चिम नवलपरासीमा डीएपी मलको हाहाकार, किसान सहकारी धाउन बाध्य

जेष्ठ २०, २०८३ |नवीन पौडेल
पश्चिम नवलपरासीमा डीएपी मलको हाहाकार, किसान सहकारी धाउन बाध्य

नवलपरासी । पश्चिम नवलपरासीमा धानको बीउ राख्नेबेलामा मल अभाव भएपछि किसान समस्यामा परेका छन् । 

बीउ राख्ने समयमा डीएपी मल चाहिने भए कृषि सामग्री कम्पनी र मल वितरण गर्ने सहकारीहरूले किसानलाई मल उपलब्ध गराउन नसक्दा समस्या भएको हो । बारम्बार माग्दा पनि कतैबाट सहयोग नपाएको किसानको गुनासो छ ।

रामग्राम नगरपालिका १३ का भेषराज चौधरी मल पाउने आशामा घर नजिकैको कृषि सहकारीमा हरेक दिन धाउने गनुहुन्छ । बीउ राख्न ढिलो भइसकेको छ, तर पनि मल पाउने नपाउने निधो छैन । चौधरीजस्तै यस क्षेत्रका किसान अहिले डीएपी मलको खोजीमा छन् । 

केहीले भारतीय बजारबाट लुकिछिपी मल ल्याएर बीउ राखेको भए पनि धेरैले मल पाएका छैनन् । किसानलाई अघिल्लो वर्ष जनप्रतिनिधिले आगामी वर्ष मल अभाव नहुने आश्वासन दिएका थिए । तर, यस वर्ष पनि किसानले बीउ राख्नेबेलामा मल पाएका छैनन् । 

अब रोप्ने समयमा के हुने हो भन्ने थप चिन्ता छ । कृषि सामग्रीले जिल्लाका ७७ वटा सहकारीमार्फत मल वितरण गर्दैआएको छ । तर, मागअनुसारको मल केन्द्रबाट नै नआउँदा मल वितरण गर्न समस्या पर्दै आएको र गोदाममा मल हुँदासमेत कृषि कम्पनीले मल वितरण नगरेको सहकारी सञ्चालकहरूको आरोप छ ।

कृषि जान केन्द्र परासीका अनुसार जिल्लामा १८ हजार मेट्रिक टन युरिया, १२ हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास आवश्यक पर्छ । तर, अहिले गोदाममा ५ सय मेट्रिक टन युरिया र २ सय मेट्रिक टन डीएपी मौज्दात छ । यो मल असारमा धान रोप्ने बेलामा वितरण गर्ने तयारी कृषि कम्पनीले गरेको छ ।

२० हजार ४८० हेक्टरमा धान रोपाइँ हुने पश्चिम नवलपरासीमा १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डीएपी मलको माग छ । तर, आठ हजार मेट्रिक टन मलको मात्रै आपुर्ती हुँदा बर्षेनि किसानले समस्या भोग्नुपरिहेको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।