काठमाडौं-तराई द्रुतमार्गमा १७ अर्ब ६४ करोड बजेट, सुरुङ र पुल निर्माणले लियो गति

जेष्ठ २०, २०८३ |बालकृष्ण अधिकारी
काठमाडौं-तराई द्रुतमार्गमा १७ अर्ब ६४ करोड बजेट, सुरुङ र पुल निर्माणले लियो गति

मकवानपुर । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना तराई मधेश द्रुतमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा खर्च गर्ने गरी १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

यस आर्थिक वर्षमा ४० वटा पुल र ५ दशमलव ४ किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने लक्ष्य छ। नेपाली सेनाको सुपरीवेक्षणमा निर्माण भइरहेको काठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं तराई मधेश द्रुतमार्गको कामले गति लिएको छ। 

एसियन हाइवेको मापदण्डअनुसार द्रुतमार्ग निर्माण भइरहेको नेपाली सेनाको दाबी छ। कुल ७० दशमलव ९७७ किलोमिटर लम्बाइको यो मार्गमा सात ठाउँमा सुरुङ छन्। दुईतर्फी गरी कुल २१ दशमलव ९५८ किलोमिटर सुरुङ रहेको द्रुतमार्गमा धेद्रे र लेनडाँडाको सुरुङ ब्रेक थ्रु भइसकेको छ भने, महादेव डाँडाँको सुरुङ आगामी असार मसान्तभित्र ब्रेक थ्रु गर्ने तयारीका साथ काम भइरहेको छ।

द्रुतमार्गमा ८९ वटा पुल रहने छन् भने हालसम्म १६ वटा पुल निर्माण भइसकेको छ। मकवानपुर र बाराको ६५ किलोमिटर क्षेत्रमा निर्माण कार्य भइरहेको छ। ललितपुरको खोकनामा मुआब्जा विवादका कारण काम सुरु हुन सकेको छैन। २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने समय अवधि रहेकोमा हालसम्म ४७.५६ प्रतिशत भौतिक प्रगति छ। 

यस्तै आयोजनाको ४७.४५ प्रतिशत वित्तीय प्रगति छ। यो मार्गको कठिन काम सकिएकाले प्रगति सन्तोष जनक नै रहेको नेपाली सेनाको दाबी छ। कुल २ खर्ब ११ अर्ब ९३ करोडको लागतमा निर्माण हुने द्रुतमार्गले तराईको निजगढबाट एक घण्टा २ मिनेटमा काठमाडौँलाई जोड्नेछ। 

बागमती प्रदेशको राजधानी हेटौँडाबाट ३० मिनेटमै काठमाडौं पुग्न सकिने यो मार्गमा ललितपुरको खोकना, मकवानपुरको बुँदुने र बाराको निजगढमा इन्टरचेन्ज र टोल ट्याक्स लिने व्यवस्था रहनेछ। 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।