फ्रान्सलाई हराएको ट्युनिसिया, अब समूह चरणको बाधा तोड्ने दाउमा

जेष्ठ २३, २०८३ |अभय बस्नेत
फ्रान्सलाई हराएको ट्युनिसिया, अब समूह चरणको बाधा तोड्ने दाउमा

काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा अफ्रिकी टोली ट्युनिसिया पहिलो पटक समूह चरण पार गर्ने लक्ष्यका साथ उत्तर अमेरिका पुगेको छ । 

रक्षात्मक रूपमा बलियो टोलीको रूपमा स्थापित ट्युनिसिया यसपटक नयाँ प्रशिक्षक र युवा प्रतिभाका साथ तयार छ। आजको विश्ववकप विषेशमा विश्वमन्चमा पहिलो पटक अफ्रिकन फुटबलको प्रतिनिधित्व गरेको ट्युनिसीयाको चर्चा ।

ट्युनिसियाका सन्दर्भमा सन् १९७८ को मेक्सिको विरुद्धको ३-१ को ऐतिहासिक जितलाई बिर्सन सकिँदैन । यो जित विश्वकपको इतिहासमा कुनै पनि अफ्रिकी टोलीले हासिल गरेको पहिलो जित थियो, जसले अफ्रिकी फुटबललाई विश्व मञ्चमा नयाँ उचाइ दियो । 

त्यस्तै, कतार २०२२ मा तत्कालीन विश्व विजेता फ्रान्सलाई १-०ले स्तब्ध पारेको क्षण अफ्रिकन फुटबल प्रेमीहरुमा ताजै छ । ट्युनिसियाको विश्वकप इतिहास निकै लामो र संघर्षपूर्ण छ। २०२६ विश्वकप टुनिसियाको सातौं विश्वकप सहभागिता हो र यो टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो । 

सन् १९७८ देखि सुरु भएको यो यात्रामा ट्युनिसियाले जम्मा १८ खेल खेल्दै ३ जित हात पारेको छ । 'इगल्स अफ कार्थेज' उपनामले चिनिने यो टोली अहिलेसम्म समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन, जुन उनीहरूका लागि यसपटकको मुख्य चुनौती हुनेछ ।

यो टोली विश्वकप २०२६ का लागि कसरी छनोट भयो भन्ने तथ्य झनै रोचक छ। ट्युनिसियाले अफ्रिकी छनोटको आफ्नो समूहमा १० खेल खेल्दा ९ जित र १ बराबरीका साथ २८ अंक जोडेर शीर्ष स्थान हासिल गर्‍यो । सबैभन्दा ठूलो उपलब्धि त के हो भने, ट्युनिसियाले छनोटका सबै १० खेलमा एउटै पनि गोल नव्योहोर्दै दुर्लभ कीर्तिमान कायम गरेको छ ।

ट्युनिसियाका लागि अहिलेसम्मको उत्कृष्ट विश्वकप सन् १९७८ को पहिलो सहभागिता नै मानिन्छ । अर्जेन्टिनामा भएको उक्त विश्वकपमा उनीहरूले साविक विजेता पश्चिम जर्मनीसँग बराबरी खेल्दै र मेक्सिकोलाई हराएर विश्व फुटबललाई चकित पारेका थिए । यद्यपि, उनीहरू थोरै अन्तिम १६ मा पुग्नबाट भने वञ्चित भएका थिए ।

यसपटकको टोलीमा बर्नलीका २४ वर्षीय मिडफिल्डर हन्निबल मेजब्री रहेका छन्, जो अहिले टोलीका स्टार खेलाडी र प्लेमेकर हुन् । त्यस्तै, कप्तान एलिस सखिरी, रक्षापंक्तिमा अली अब्दी र युवा प्रतिभा रानी खेदिरा माथि पनि सबैको नजर रहनेछ ।

ट्युनिसियाको पछिल्लो विश्वकप कतार २०२२ मा भने मिश्रित रह्यो। फ्रान्सजस्तो बलियो टोलीलाई हराए पनि अस्ट्रेलियासँगको १-० को हार उनीहरूका लागि महँगो सावित भयो, जसका कारण उनीहरू समूह चरणबाटै बाहिरिनु परेको थियो ।

अब यसपटकको तालिका हेर्दा, ट्युनिसिया समूह 'एफ' मा परेको छ । ट्युनिसियाले जुन १५ मा स्वीडेनविरुद्ध खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ । त्यसपछि जुन २१ मा जापान र जुन २६ मा बलियो टोली नेदरल्यान्ड्ससँग भिड्नेछ । प्रशिक्षक साब्री लामौचीको ४-२-३-१ को रक्षात्मक रणनीति र काउन्टर अट्याकले ट्युनिसियालाई पहिलो पटक नकआउट चरणमा पुर्‍याउने विश्वास गरिएको छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।