
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका २ मा सञ्चालित बेनी जलविद्युत् आयोजनाले शेयर निष्कासनमा विभेद गरेको भन्दै नगरपालिकाकै पाँचवटा वडाका अध्यक्षलेले आयोजनाको पावर हाउसमा तालाबन्दी गरेका छन् ।
१९ दशमलब ८ मेगावाट क्षमताको बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले अतिप्रभावितका लागि निष्कासन गरेको १० प्रतिशत शेयरमा विभेद भएको भन्दै वडा अध्यक्षहरूले नै आयोजनामा तालाबन्दी गरेका हुन् । आयोजनाले वडा नम्बर २, ३ र ४ लाई मात्रै अतिप्रभावितमा समेटेको तर नजिकका वडा तथा प्रसारण लाइन टाँगिएका वडाहरूलाई उपेक्षा गरेको भन्दै वडा नम्बर १, ५, ६, ७ र ११ का वडा अध्यक्षहरु आन्दोलित बनेका हुन् ।
यसअघि नगरपालिका, आयोजना र स्थानीय प्रशासन सँग माग राख्दा समेत बेवस्ता भएको भन्दै वडा १ का प्रतिनिधि, ५ नम्बर वडा अध्यक्ष मिङ्मार तामाङ, ६ नम्बर वडा अध्यक्ष फुर्वाग्याल्जेन शेर्पा, ७ नम्बर वडा अध्यक्ष सोनामग्याल्जेन शेर्पा र ११ नम्बर वडा अध्यक्ष टंक कार्कीले वडा नम्बर ३ मा बोल्दोमा रहेको आयोजनाको पावर हाउसमा तालाबन्दी गरेका हुन् ।
आयोजनाले २० प्रतिशत साधारण शेयर तथा १० प्रतिशत अर्थात् १ करोड ४० लाख रकम बराबरको अतिप्रभावितका लागि शेयर निष्कासन गरेको छ ।