मतदाता खोज्दै दल र उम्मेदवार घरघरमा पुग्न थालेपछि होटल र यातायात क्षेत्रसँगै अर्थतन्त्र चलायमान

माघ १४, २०८२ |सुदिल पोखरेल
मतदाता खोज्दै दल र उम्मेदवार घरघरमा पुग्न थालेपछि होटल र यातायात क्षेत्रसँगै अर्थतन्त्र चलायमान

काठमाडौं । फागुन २१ को चुनाव नजिकिएसँगै होटलमा ग्राहक र यातायातमा यात्रु बढेका छन् । 

चुनावकै कारण यातायातमा ४० प्रतिशतसम्म यात्रु बढ्ने व्यवसायीको आकलन छ । तर होटलमा उधारो कारोबार हुने र पैसा नउठ्ने चिन्ता व्यवसायीको छ । चुनाव नजिकिएसँगै आर्थिक गतिविधि केही बढ्न थालेका छन् । विशेष गरी चर्चामा रहेका नेताहरूले उमेदवारी दिएका क्षेत्रमा ग्राहक बढेको व्यवसायी बताउँछन् । 

झापाको दमकदेखि गोर्खा, जनकपुर र चितवनमा समेत ग्राहकको भीड बढेको छ । उधारो कारोबार हुने हो कि भन्ने चिन्ता भए पनि चुनावी अभियान बढेपछि होटलमा हुने कारोबार फस्टाएको व्यवसायीको भनाइ छ । यता, चुनावी प्रचारमा प्रयोग गरिने चार पाग्रे गाडीहरूको पनि मांग बढेको छ ।

अहिले दैनिक १ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । चुनावको माहोल बढ्दै जाँदा ३० देखि ४० प्रतिशतसम्म यात्रु बढ्ने व्यवसायीको आकलन छ । तर यसपटक पार्टीका नेता-कार्यकर्तालाई निःशुल्क प्रयोग गर्ने गरी दिन नसकिने उनीहरूले स्पष्ट पारेका छन् ।

चुनावका बेला होटल तथा यातायातमात्र नभइ पेट्रोलियम पदार्थको समेत व्यापार बढ्ने गर्छ भने साना तथा खुद्रा व्यवसायसमेत चलायमान हुने गर्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।