
काठमाडौं । २५औँ आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि शनिबार जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब प्रतिस्पर्धा गर्दै छन् ।
फाइनल खेल शनिबार दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । जावलाखेल इतिहास कोर्ने दाउमा छ भने सहारा इतिहास दोहोर्याउने । यसअघि चारपटक फाइनल पुगेको सहाराले नौ वर्षपछि दोस्रोपटक उपाधि घरमै राख्ने लक्ष्य लिएको छ । त्यसैगरी, १४ वर्षपछि फाइनल पुगेको जावलाखेल पहिलोपटक उपाधि उचाल्न चाहन्छ ।
प्रिम्याच कन्फरेन्समा दुवै टोलीले आफ्नो लक्ष्य उपाधि उचाल्ने भएको भन्दै त्यसका लागि आन्तरिक तयारी गरेको बताएका छन् । जावलाखेलले उज्वेकिस्तानको टोली आभा फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने सहाराले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेर उपाधि भिडन्त सुनिश्चित गरेको थियो ।
प्रतियोगिता विजेताले १४ लाख एक हजार पुरस्कार राशिसहित ट्रफी उचाल्ने छ । उपविजेताले सात लाख एक हजार प्राप्त गर्नेछ । उत्कृष्ट विधागत खेलाडीले नगद पच्चिस हजार प्राप्त गर्नेछन् ।