
काठमाडौं । शनिबारबाट आईसीसी टी-२० पुरुष विश्वकप २०२६ मा सुपर ८ का खेलहरू हुँदै छन् ।
फाल्गुन ९ देखि १७ सम्म हुने सुपर ८ मा टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन् । समूह २ मा पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड र न्युजिल्यान्ड छन् । यस पटकको सुपर ८ मा कुनै पनि एसोसिएट टोली भने अटाउन सकेनन् ।
यो चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य तीन टोलीहरूसँग खेल्नुपर्नेछ । र, प्रत्येक समूहका शीर्ष दुई टोलीहरू सेमिफाइनल पुग्नेछन् । सुपर ८ को पहिलो खेलमा शनिबार पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । यसपटक सुपर ८ मा अघिल्लो विश्वकप फाइनलको झल्को दिने गरी फाल्गुन १० मा भारत र दक्षिण अफ्रिका आमनेसामने हुनेछन् ।
विश्वकपको सेमिफाइनल खेलहरू फाल्गुन २० र २१ मा हुनेछन् भने फाइनल खेल फाल्गुन २४ मा हुनेछ । प्रतियोगितामा भारत हालसम्म अपराजित छ । यता, अघिल्लो टी-२० विश्वकपमा छनोटसमेत हुन नसकेको जिम्बाब्वेले यसपटक भने उपाधि दाबेदार अस्ट्रेलियालाई मात दिँदै सुपर एटमा स्थान बनाएको छ । विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र म्याक्स-२ मा हुनेछ ।