जय ट्रफी : पहिलो दिनको खेल समाप्त हुँदा बागमती प्रदेशविरूद्ध एपीएफकाे अग्रता

फाल्गुन ८, २०८२ |खेल ब्युरो
जय ट्रफी : पहिलो दिनको खेल समाप्त हुँदा बागमती प्रदेशविरूद्ध एपीएफकाे अग्रता

काठमाडौं । जय ट्रफीअन्ततर्गतनै मुलपानीमा जारी अर्को खेलमा पहिलो दिनको खेल समाप्त हुँदा विभागिय टोली नेपाल एपीएफ क्लबले बागमती प्रदेशविरूद्ध ३१ रनको अग्रता बनाएको छ ।

एपीएफले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको बागमतीले ५४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै २ सय ७ रन बनाएको अवस्थामा इनिङ्स समाप्तीको घोषणा गरेको थियो । उसका लागि आसुतोश घिरैयाले ३५, सुभ कंसाकारले ३४ र विवेक मगरले सर्वाधिक ४२ रनको योगदनान दिए । रिजन ढकाल ३५ रनमा आउट भए । एपीएफका लागि इर्साद अहमदले ३ तथा कप्तान रोहित पौडेल र युवराज खत्रिले समान २-२ विकेट लिए ।

जवाफमा एपीएफल पहिलो इनिङ्समा ४९ ओभर २ बलमा २ सय ३९ रन बनाएको अवस्थामा अल आउट भयो । दिपक बोहोरा ३८ र आसिफ सेख २८ रनमा बाहिरिए । सन्दीप जोराले ६१ रनको आक्रमक अर्धशतकीय इनिङ्स खेले । कप्तान राहितले अर्धशतक प्रहार गर्दै ८७ रन जोडेपनि अन्य खेलाडीबाट साथ पाउन नसक्दा सतत प्रहार गर्नबाट १३ रनले चुके । उनी अविजित रहँदै पेवलियन फर्किए ।

बागमतीका लागि रिजनले ३ विकेट लिए । ३२ रनले पछि परेको अवस्थाबाट दोस्रो इनिङ्स थालेको बागमतीले खराब सुरुवात गर्यो । नाइट वाचम्यानको रूपमा क्रिजमा आएका सुर्य तामाङ १ रनमा आउट भएपछि बागमतीले १ रन जोड्दा १ विकेट गुमाएको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । अब ३१ रनले पछि परेको अवस्थाबाट बागमतीले दोस्रो दिनको सुरूवात गर्ने छ । उसका रित गौतम क्रिजमा छन् ।