.png&w=1000&height=550)
काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत पहिलो दिनको खेल सकिँदा विभागिय टोली नेपाल आर्मी क्लबले नेपाल पुलिस क्लबविरूद्ध २४ रनको अग्रता बनाएको छ ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आर्मीले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको पुलिसले ५३ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको अवस्थामा इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
उसकालागि ओपनर कुशल भुर्तेलले ३०, कप्तान आरिफ सेखले ३६ र राशिद खानले ३८ रन बनाए । आर्मीकालागि पवन कार्कीले ४ विकेट लिए । भिम सार्कीले शतक प्रहार गरेपछि आर्मीले पहिलो इनिङ्समा ४० ओभर ब्याटिङ गर्दै २ सय ३४ रन बनाएको अवस्थामा डिक्लियर घोषणा गरेको थियो ।
तिर्थराज दास १४ र इमरान सेख १४ रनमा बाहिरिए पनि भिमले सानदार शतक प्रहार गर्दै इनिङ्स सम्हालेका थिए । भिमलाई नरेन साउदले ३१ र पवन कार्कीले ३७ रन जोडेर साथ दिए । १ सय ५ रन जोडेका भिम नउआट रहे । पुलिसका लागि सागर ढकालले ६ विकेट लिए ।
४७ रनले पछि परेको अवस्थाबाट दोस्रो इनिङ्सको सुरुवात गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा १ विकेट गुमाएको अवस्थामा २३ रन जोडेको छ । अमित श्रेष्ठ ४ रनमा आउट भइसकेका छन् । २४ रनले पछि परेको अवस्थाबाट १२ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका संकर रानाले पुलिसका लागि दोस्रो दिनको सुरुवात गर्ने छन् ।