युरोपको रोजगारी नाममा बढ्दै ठगी

६ महिनामै १ अर्ब ८२ करोडभन्दा बढी ठगी भएको भन्दै २ हजार उजुरी विभागमा
नियन्त्रणमा सरकार रमिते
पुस २९, २०८२ |सुमन पन्थ
युरोपको रोजगारी नाममा बढ्दै ठगी

काठमाडौं । खाडी र मलेसियामा केन्द्रित वैदेशिक रोजगारी युरोपेली मुलुकतर्फ सरेको छ । 

युरोपका क्रोएसिया, रोमानिया, पोल्यान्ड, माल्टाजस्ता देशमा युवाको आर्कषण छ । तर युरोपेली मुलुकमा जाने युवा पाइलैपिच्छे ठगिएका छन् । चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १ अर्ब ८२ करोड रूपैयाँ बराबरको ठगी भएको उजुरी वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।

युरोपेली मुलुक रोमानिया जाने भन्दै धनकुटाका टेकनाथ तिम्सिना र झापाका चन्द्र ताजपुरीयाले एजेन्ट नुरूप्रसाद पाठकलाई जनही चार-चार लाख बुझाए । तर पैसा बुझाएपछि एजेन्ट सम्पर्कविहीन भएपछि उनीहरू काठमाडौं आएका छन् । फसेको पैसा उठ्ने आशाले दुबै जनाले प्रहरी र श्रम विभागमा उजुरी बुझाएका छन् ।

वैदेशिक रोजगार विभागमा पछिल्लो ६ महिनामा ठगीका २ हजारभन्दा बढी उजुरी परेका छन्, जसमध्ये ८० प्रतिशत उजुरी व्यक्तिगत ठगीका रहेका छन् । यो अवधिमा १ अर्ब ४२ करोड ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा श्रमिकहरु संस्थागतभन्दा पनि व्यक्तिगत तवरले गइरहेका छन् । 

युरोपेली मुलुकमा नेपाली श्रमिकको आर्कषण रहे पनि नेपालमा रहेका म्यानपावर कम्पनीहरूको माग ल्याउन सक्दैनन् । संस्थागत तवरले माग ल्याउन सम्वन्धित देशमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्छे । तर दूतावासहरुले सरकारको स्पष्ट निर्देशन नआएको भन्दै प्रमाणीकरण गरेका छैनन् । 

इजाजतवाला म्यानपावर कम्पनीहरु संलग्न नभएपछि गेष्ट हाउस, एजेन्ट तथा शैक्षिक परामर्शदाता कम्पनीहरुले अवैध पठाउन खोज्दा ठगि बढेको हो । वैदेशिक रोजगार विभागमा दैनिक १० देखि १२ जनाले व्यक्तिगत तहमा ठगिएको भन्दै उजुरी दिइरहे पनि सरकारले यसलाई व्यवस्थित भने गर्न सकिरहेको छैन ।

वैदेशिक रोजगार विभागमा ठगीका ३६ हजारभन्दा बढी मुद्दा छन् । तर, विभागमा छिटो-छिटो हुने नेतृत्व परिवर्तन र प्राथमिकतामा नपर्दा ती मुद्दाको न्यायिक निरुपण हुन सकिरहेको छैन । श्रमिक दिनहुँ ठगिइरहे पनि समस्या समाधानका लागि सरकारले नीतिगत हस्तक्षेप गर्न सकिरहेको छैन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।