
झापा । झापाको दमक-३ मा रहेको हंसे दुम्से दुग्ध डेरी प्रालिका सञ्चालकहरू २२ लाख रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी नगरी सम्पर्कविहीन भएपछि करिब २ सय घरधुरी किसान मारमा परेका छन्।
दूध बिक्री गरेको रकम नपाउँदा आर्थिक संकटमा परेका किसानले फरार सञ्चालकको सम्पत्ति तत्काल छानबिन, बक्यौता भुक्तानी र दोषीमाथि कारबाही माग गरेका छन्।
झापाको दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी प्रालि पशु उत्पादन तथा संकलन सहकारी संस्थाका सञ्चालकहरू रकम भुक्तानी नगरी सम्पर्कविहीन भएपछि दुग्ध किसानहरू मारमा परेका छन् । लामो समयदेखि दूध बिक्री गर्दै आएका करिब दुई सय घरधुरी किसानको २२ लाख रुपैयाँभन्दा बढीबक्यौता नदिइ डेरी सञ्चालकहरू कार्यालय बन्द गरेर फरार भएपछि किसानहरु मारमा परेका हुन् ।
हंसे दुम्से डेरीले करिब दुई वर्षदेखि दूधको भुक्तानी नगरी सञ्चालक फरार भएपछि किसानको चिन्ता बढेको छ । पीडित किसानहरुका अनुसार सामान्यतया प्रत्येक महिनाको दूधको भुक्तानी अर्को महिनाको १० गतेभित्र भइसक्नुपर्ने नियम थियो । तर, केही महिनादेखि ‘बैंकमा समस्या छ’ भन्दै सञ्चालकले आलटाल गर्दै आएका थिए ।
सञ्चालकहरू एकाएक कार्यालय बन्द गरेर फरार भएपछि किसानहरू आफू ठगिएको निष्कर्षमा पुगेका हुन् । ६० जना किसानको नामावलीसहित २२ लाख ६५ हजार २०० रुपैयाँ बक्यौता प्रमाणित भइसकेको छ । रकम नपाउँदा किसानहरूलाई पशुका लागि दाना खरिद गर्न, घरखर्च चलाउन, छोराछोरीको पढाइ खर्च जुटाउन र ऋणको किस्तातिर्न धौधौ परेको छ ।
संस्थाका अध्यक्ष हिमालय दाहालले किसानहरूको रकम तिर्न बाँकी रहेको स्वीकार गर्दै अघिल्लो सञ्चालक समितिकै कार्यकालदेखि आर्थिक अवस्था बिग्रँदै गएको दाबी गर्नुभयो । दाहालले संस्थाको नाममा रहेको सम्पत्ति बिक्री गरेर भए पनि किसानहरूको बक्यौता भुक्तानी गर्न प्रयास गर्ने बताउनुभयो ।
दमक नगरपालिकाले यो सहकारीले पछिललो दुई वर्षदेखि नवीकरण नगरेको र साधारण सभाबारे समेत नगरपालिकालाई कुनै जानकारी नगराएको जनाएको छ । नियमअनुसार सञ्चालन नभएको र लामो समयसम्म विवरण नबुझाएको विषयमा अध्ययन गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।
पीडित किसानहरूले संस्थामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा उजुरी दर्ता गराएका छन् । उजुरीमा डेरीका वर्तमान अध्यक्ष हिमालय दाहाल, पूर्वअध्यक्षहरु गेहनाथपोखरेल, पुष्पढकाल तथा शान्तिराम भट्टराईलगायतका जिम्मेवार व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
संस्थाको आधिकारिक बैंक खाता र सम्बन्धित सञ्चालकहरू शान्तिराम भट्टराई, राजकुमार अधिकारी र कुलचन्द्र गौतमको व्यक्तिगत खातामा रकम रकमान्तर गरिएको आरोप लगाउँदै पीडित किसानले ती खाताहरूसमेत तत्काल रोक्का गर्न माग गरेका छन् ।
सुजन गौतमकाे रिपार्ट