
काठमाडौं । काठमाडौंमा सानो वर्षा हुनेबित्तिकै माइतीघरलगायतका क्षेत्र डुबानमा पर्छ । तर किन ?
सबैको मनमा उठ्ने प्रश्न हो यो । यही समस्याका कारण बर्सेनि नागरिकले सास्ती बेहोर्नुपर्दा सरकार र स्थानीय तहको आलोचना हुँदै आएको छ । ढल निकासको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि कारण पहिचान गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं महानगरपालिका, सडक डिभिजन काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिसम्मिलित संयुक्त प्राविधिक समिति गठन भएको थियो।
समितिले यही साउन ७ गते प्रतिवेदन तयार पारेको छ । समितिले माइतीघरलगायतका क्षेत्रमा डुवानको समस्या हुन नदिन ढल निकास अतिक्रमण गरि बनाइएकमा संरचना तत्काई हटाउन सुझाव दिएको छ । प्राविधिक समितिले डुबान समस्या हुनुमा के-के कारण औंल्याएको छ ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित प्राविधिक समितिले ढल निकासमा अवरोध, ढलको भित्री संरचनामा जम्मा भएका ठोस फोहोर, साँघुरो ढल निकास, ढल निकास र टुकुचा खोलाको सतहबीचको भिन्नता र सम्बन्धित निकायबीच समन्वय नहुँदा माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको औंल्याएको छ ।
डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल निकास अतिक्रमण गरी बनाइएका व्यक्तिगत, थापाथली क्याम्पस र अन्य सरकारी निकायका संरचना तत्काल हटाइ ढल बाहिरबाटै देखिने गरी खुला राख्न प्रतिवेदनले सुझाव दिएको छ । माइतीघर क्षेत्रबाट संकलन हुने ढल तथा वर्षातको पानी सैन्य परिवहन गण हुँदै थापाथली क्याम्पस परिसरभित्र प्रवेश गर्छ ।
क्याम्पसभित्रको पहिलो निकास तथ्यांक विभागतर्फ जान्छ, जहाँ तुलनात्मक रुपमा ढलको बनावट सानो छ । दोस्रो निकास क्याम्पस परिसर हुँदै टुकुचा खोलातर्फ जान्छ । ढल निकास अतिक्रमण गरि बनाइएका संरचनाकै कारण माइतीघर क्षेत्र डुबान भएको हो भन्ने त्यस्ता संरचना हटाउन तयार रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
माइतीघर क्षेत्र डुबानमा पर्ने अर्को कारण पनि छ । विगतमा माइतीघर चोकसँगै जोडिएको खाली जमिन सडकभन्दा होचो भएकाले प्राकृतिक जलाशयको काम गर्थ्यौ । थापाथली हाइट, सिंहदरवार र बबरमहलजस्ता उच्चभूभागबाट आउने पानी सिधैं भवन वा सडकमा पस्नुको सट्टा पहिले यसै खाली जग्गामा जम्मा हुन्थ्यो ।
यसले वर्षाको उच्चबहावलाई केही समय रोकेर राख्थ्यो र जमिनमा सोसिन्थ्यो। जसका कारण माइतीघरको मुख्य ढलमा एकैपटक सबै पानीको चाप पर्दैनथ्यो। र खाली जग्गा भएर ढलमार्फत टुकुचातर्फ पानी निकास हुने क्रम ढिलो हुने भएकाले माइतीघर चोक तत्काल डुबानबाट जोखिन्थ्यो । तर, ती खाली जग्गामा अहिले प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालय बने ।
होचो जग्गा कंक्रिटको संरचनाले ढाकिएपछि प्राकृतिक रुपमा पानी सोसिने क्रम पनि रोकियो र वर्षा हुनासाथ सम्पूर्ण पानी सिधैं माइतीघर चोकतर्फ केन्द्रित हुन थाल्यो । माइतीघरसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा हुने डुबान समाधानका लागि वैज्ञानिक रुपमा विस्तृत अध्ययन गरी उपाय खोजिनु पर्ने विज्ञहरुले औल्याएका छन् ।
ढल निकास अतिक्रमण मुख्य समस्याको रुपमा देखिएको प्रतिवेदनल औंल्याएको छ । कतिपय स्थानमा त ढल निकास भएका कतिपय स्थानलाई ढललाई छोपेर पसल र शौचालयसमेत बनाइएको पाइएको छ । यस्तै थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक तथा तथ्यांक कार्यालयका संरचनाले ढल निकासमा अतिक्रमण गरेको पाइएको छ ।
यसबाहेक विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानीसहितका सेवा प्रदायकहरुले तार पाइप वा अन्य संरचना बिछ्याउँदा वा मर्मत गर्दा ढलको संरचनामा अवरोध पुगेको र समन्वय विना गरिने यस्ता कार्यले पनि ढल प्रणालीलाई अवरोध पुर्याएको प्रतिवेदनले औंल्याएको छ ।